विना तयारी आयोजना कार्यान्वयनमा जाँदा समस्या बढेको: प्रा.डा शिवराज

काठमाडौं — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले तयारी नपुगेका आयोजना कार्यान्वयनमा जानु मुख्य चुनौती भएको बताएका छन्।

पूर्व योजनाकार मञ्चद्वारा आयोजित ‘बजेट कार्यान्वयन र समाधानमा चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले दुई खालका कार्ययोजना बनाइएको जानकारी दिए— एक, अध्ययनमात्र गरिने आयोजना र अर्को, सम्पूर्ण प्रक्रिया पुरा गरी कार्यान्वयनमा लगिने आयोजना।

उनका अनुसार, बजेट विनियोजन ऐनअनुसार अध्ययन सकिएका आयोजना चालू आर्थिक वर्षभित्रै कार्यान्वयनमा लैजान सकिनेछ।

उपाध्यक्ष अधिकारीले निजी क्षेत्रको लगानी कम भएको अवस्थामा सरकारले आन्तरिक स्रोत र ऋण प्रयोग गरेर विकास अघि बढाउनु पर्ने धारणा व्यक्त गरे। बाह्य र आन्तरिक ऋणलाई एउटै दृष्टिले नहेर्नुपर्नेमा पनि उनले जोड दिए।

सिक्टा, हुलाकी जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूमा ऋणपत्र जारी गरेर छिटो कार्यान्वयन गर्ने योजना रहेको जानकारी उनले दिए।

अब राष्ट्रिय प्राथमिकताका आयोजना आयोगमा अनुमोदनका लागि नआए पनि मन्त्रालयले राजपत्रमा प्रकाशन गरेपछि अगाडि बढ्न सक्ने व्यवस्था भएको अधिकारीले बताए।

सन् २०२६ मा नेपाललाई विकासोन्मुख मुलुकको दर्जा दिलाउन आवश्यक मापदण्डहरू पूरा भइसकेको बताउँदै उनले अब कुनै पनि काममा ढिलाइ गर्नु नहुने स्पष्ट पारे।

तपाईको प्रतिक्रिया