काम भन्दा लोकसेवा रट्नमै सरकारी कर्मचारी व्यस्त : मन्त्री न्यौपाने

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरू कामभन्दा पनि लोकसेवा तयारीमा बढी केन्द्रित हुने प्रवृत्तिप्रति गुनासो गरेकी छन्।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठकमा संघीय निजामती विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री न्यौपानेले कर्मचारीहरूमा सेवा प्रवाह गर्ने मनोवृत्ति कम देखिएको धारणा राखिन्।

उनले भनिन्, “म मन्त्रालयमा आएपछि देखेँ, धेरैले हाजिर गरेर अरु समय लोकसेवा अध्ययनमै खर्चिने प्रवृत्ति देखियो। यस्तो अवस्थामा सबै पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्दा सेवा प्रभावकारी हुँदैन।”

संघीय निजामती विधेयकमा प्रारम्भिक प्रस्तावअनुसार नायब सुब्बा र खरिदार पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति हुने भनिएको थियो। तर प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले नायब सुब्बाको नियुक्ति खुला प्रतिस्पर्धाबाट नगर्ने निर्णय गरेको छ।

विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ भने राष्ट्रिय सभामा छलफलका लागि पुगेको छ। संशोधित विधेयकअनुसार अब नायब सुब्बा र सहसचिव पदमा लोकसेवा आयोगमार्फत खुला विज्ञापन हुने छैन। खरिदार तहबाट आन्तरिक बढुवामार्फत मात्रै नायब सुब्बामा नियुक्ति गरिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया