सबै दलसँग छलफल गरेर उपसभामुखविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउँछौं – कांग्रेस

काठमाडौं, – नेपाली कांग्रेसले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने तयारी भइरहेको स्पष्ट पारेको छ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै, विशेष प्रयोजनका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको बताएका छन्। उनले उपसभामुखविरुद्ध औपचारिक रूपमा कुनै छलफल नभएको उल्लेख गरे पनि कांग्रेस र नेकपा एमालेले आ–आफ्ना सांसदहरूको हस्ताक्षर संकलन सुरु गरिसकेका छन्।

मंगलबार दुवै दलले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफ्ना सांसदहरूलाई बोलाई हस्ताक्षर संकलन गरेका थिए।

कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखविरुद्धको अविश्वास प्रस्ताव अघि बढाउन सत्तामा रहेका सबै दलसँग छलफल भइरहेको जानकारी दिए।

यता एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखसम्बन्धी विषय संसदभित्र उठेकाले त्यसबारे छलफल हुनु स्वाभाविक भएको बताए। उनले यो विषय सरकारको नभई संसदकै भएकोले निर्णय पनि सदनबाटै हुने स्पष्ट गरे।

कांग्रेस र एमाले दुबैले उपसभामुख रानाले पदीय आचरणअनुसार जिम्मेवारी नबोकेको आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।

तपाईको प्रतिक्रिया