पशुपति आर्यघाटबाट मानव अवशेष खरिद गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं — पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको अवस्थामा मानव अवशेष संकलन गरी बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीका रामनन्दन ठाकुर र सप्तरीका मिश्रीलाल यादव रहेका छन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी अपिलराज बोहराका अनुसार ४२ वर्षीय ठाकुर मुख्य खरिदकर्ता हुन् भने ४१ वर्षीय यादव उनको सहयोगीको रूपमा संलग्न थिए। उनीहरूलाई बिहीबार गौशाला क्षेत्रबाट पक्राउ गरिएको हो।

साउन २३ गते दिउँसो करिब २:४५ बजे बनेपा नगरपालिका–९ निवासी ६५ वर्षीय राम शाहीको शव आर्यघाटमा दाहसंस्कार भइरहेको बेला मानव हड्डी निकालिएको आशंकासहित घटना सार्वजनिक भएको थियो।

आर्यघाट सेवा केन्द्रबाट खटिएका कर्मचारी जीवनाथ ढकाल (उर्फ गणेशप्रसाद ढकाल) र विनायक मैनालीमाथि जलिरहेको शवबाट हड्डी र खरानी निकालेर बिक्री प्रयोजनका लागि प्याक गरेको आरोप लागेको छ।

प्रहरीका अनुसार, ती हड्डीहरू कपुरको बट्टामा राखी बिक्री गरिएको देखिएको छ। पक्राउ परेकाहरूको साथबाट हड्डीको धुलो र खरानीजस्तो देखिने वस्तु पनि बरामद गरिएको छ। घटनाबारे गौशाला प्रहरी वृत्तबाट थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया