अविरल वर्षाले देशभर सात मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले सातवटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकभरकै प्रमुख राजमार्गहरू प्रभावित भएका छन्।

प्रहरीको विवरण अनुसार पूर्ण रूपमा अवरुद्ध भएका राजमार्गहरूमा संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल, सोही जिल्लाको पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने अरनिको राजमार्ग रहेका छन्।

यस्तै, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–रुकुम सहिद राजमार्ग, र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट–डोल्पा–भेरी करिडोर सडक पूर्ण रूपमा ठप्प भएका छन्।

यसैबीच, काठमाडौंको टोखा–नुवाकोट सडकखण्ड, नवलपरासी पूर्वको गैँडाकोटस्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुरस्थित पृथ्वी राजमार्ग, र रोल्पाको सहिद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार ती क्षेत्रहरूमा सडक अवरोध हटाउन सम्बन्धित निकायको समन्वयमा डोजर तथा प्राविधिक टोली परिचालन गरिएको छ। वर्षा अझै केही दिन जारी रहने अनुमान गरिएकाले यात्रु तथा सवारी चालकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया