प्रहरीमा ठूलो संख्यामा राजीनामा, नयाँ भर्ना प्रक्रिया अघि बढ्दै

काठमाडौं ।  नेपाल प्रहरीले एक वर्षमा २३९६ जनाको राजीनामा भएको छ भने ४७५३ पद रिक्त रहेको छ। प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, पेन्सन अवधि पूरा हुनासाथ धेरै प्रहरी अधिकारीहरूले राजीनामा दिई वैदेशिक रोजगारीतर्फ लागेका छन्।

विदेशमा उच्च तलब पाउने कारणले पनि प्रहरीहरूको राजीनामा दिने प्रवृत्ति बढेको बताइएको छ। प्रहरी प्रशासनले राजीनामा रोक्न प्रयास गरिरहेको भए पनि सफल हुन सकेको छैन। कम सेवा सुविधा र अत्यधिक कामको दबाबले पनि प्रहरी जागिरमा आकर्षण कम भएको छ।

राजीनामा दिनेमध्ये १९ जना वरिष्ठ अधिकारी, ४०१ जना जुनियर अधिकारी र १९४९ जना जवान तथा हवल्दार रहेका छन्।

राजीनामाका कारण करिब ६ प्रतिशत पद खाली छन्। कुल ७९,५४१ दरबन्दीमध्ये ४७५३ पद हाल रिक्त रहेको प्रहरीले जनाएको छ। तीमध्ये २३७८ पदमा नयाँ भर्ना प्रक्रिया अगाडि बढिसकेको पनि जानकारी दिइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, हाल करिब २७,९०३ जनशक्तिको आवश्यकता रहेको छ।

तपाईको प्रतिक्रिया