नगरव्यापी समावेशी सरसफाइ कार्यक्रम सञ्चालन गर्न झापामा बहुपक्षीय छलफल

मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसँग कार्यकक्षमै भेट गरी नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (Scaling of Citywide Inclusive Sanitation Service System) कार्यक्रमबारे विस्तृत छलफल ।

झापा : झापाको मेचीनगर नगरपालिकामा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (Scaling of Citywide Inclusive Sanitation Service System) कार्यक्रम कार्यान्वयन गर्न संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम UN-Habitat वाटर एड नेपाल र मिडिया हेल्पलाइनको टोलीले नगरपालिकाका सरोकारवाला पक्षसँग प्रारम्भिक छलफल गरिएको छ ।
नेपाल नगरपालिका संघ, वाटर एड नेपाल र मेचीनगर नगरपालिका बीच यस अघि गत असार १३ गते भएको समझदारीको आधारमा टोलीले कार्यक्रम कार्यान्वयनका लागि मेचीनगर नगरपालिका, काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सँग छलफल गरिएको हो।

सरसफाइ मेचीनगरको प्रमुख प्राथमिकता : नगर प्रमुख बुढाथोकी

मेचिनगर नगरपालिका, नगर प्रमुख, गोपालचन्द्र बुढाथोकी

मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सरसफाइलाई अब नगरको प्रमुख प्राथमिकताको बिषय बनाईने बताउनुभयो । संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम, वाटर एड नेपाल र मिडिया हेल्पलाइनको टोलीसँग आफ्नै कार्यकक्षमा गरिएको छलफलमा नगर प्रमुख बुढाथोकीले सरसफाइमा लगानी बृद्धि गर्ने प्रबितबद्धता व्यक्त गर्नुभयो।
नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम कार्यान्वयनका लागि भएको समझदारीमा ‘नगरस्तरीय दिशाजन्य लेदो व्यवस्थापनका लागि सरसफाइ नीति तथा योजना लागु गर्ने क्रममा सम्बन्धित नगरपालिकाले आफ्नो बार्षिक योजनामा कम्तीमा सरसफाइ अन्तर्गत १५ प्रतिशत बजेट दिशाजन्य लेदो व्यवस्थापनका लागि विनियोजन गर्नेछ’ भन्ने उल्लेख छ ।
नगर प्रमुख बुढाथोकीले नगरस्तरीय मानव मलमूत्र व्यवस्थापनका बिषयमा नीति निर्माण गर्न कार्यक्रमको तर्फबाट सघाउ पुग्ने विश्वास व्यक्त गर्दै नगरपालिकाको तर्फबाट गर्नुपर्ने भूमिकामा कमी हुन नदिने बाचा गर्नुभयो । ‘सरसफाइका दृष्टिले मेचीनगरलाई देशको नमुना नगर बनाउने हाम्रो लक्ष्य हो, यसमा कार्यक्रमको तर्फबाट सक्दो सहयोग हुनेमा आशावादी छु’ उहाँले भन्नुभयो।

कार्यक्रम अन्तर्गत हुने प्राविधिक सहयोग

छलफलमा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम नेपालका CWIS प्राविधिक अधिकृत राजेश मानन्धरले नगरव्यापी समावेशी सरसफाइ प्रणाली (Scaling of Citywide Inclusive Sanitation Service System) को अवधारणाबारे जानकारी गराउनुभयो।
उहाँले मेचीनगर नगरपालिकामा कार्यान्वयन सुरु भएको ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ (Scaling of Citywide Inclusive Sanitation Service System) ले नगरस्तरीय मानव मलमूत्र व्यवस्थापन सम्बन्धी कानुनी औजारहरु निर्माण गर्ने, मानव मलमूत्र व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन तथा सुदृढीकरण गरी एन वासमा अद्यावधिक गर्ने, नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी क्षमता विकास गर्ने र संस्थागत प्रारुपहरु तयार पार्न प्राविधिक सहयोग हुने बताउनुभयो ।
‘यसका लागि एउटा मात्र निकाय संलग्न छैन । खानेपानी मन्त्रालय अन्तगर्त खानेपानी तथा ढल व्यवस्थापन विभागले नगरव्यापी समावेशी सरसरफाइ सम्बन्धी क्षमता अभिवृद्धिका लागि तालिमहरु सञ्चालन गर्नेछ। प्राविधिक अधिकृत मानन्धरले भन्नुभयो, ‘नेपाल नगरपालिका संघ र वाटर एड नेपालले कानुनी औजारहरुको निर्माण तथा तथ्याङ्क संकलन र सुदृढीकरण लगायत काम गर्नेछन् ।’
गेट्स फाउण्डेसनको वित्तिय व्यवस्थापनमा सुरु भएको (Scaling of Citywide Inclusive Sanitation Service System) कार्यक्रममा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN -Habitat) कार्यकारी निकाय हो ।

अन्य सरोकारवालासँग पनि छलफल

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरूसँग भेटघाट तथा पानी गुणस्तर परीक्षण प्रयोगशाला अवलोकन ।

टोलीले काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग पनि छलफल गरेको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मेचीनगर नगरपालिकाको वडा नंं ७ मा निर्माण भएको मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गर्दै आएको छ भने चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मेचीनगर नगरपालिकाको वडा नम्बर १४ धगेरेमा रहेको मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गर्दै आएको छ ।
दुवै मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्र एसियाली विकास बैंक मार्फत गेट्स फाउण्डेसनको ८५ प्रतिशत र स्थानीय तहहरुको १५ प्रतिशत लगानीमा निर्माण गरिएको हो।
टोली सँगको छलफलमा काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रोहित कुमार बुढाथोकीले संस्थाले मेचीनगर नगरपालिकाको ८ हजार ५ सय घरधुरीलाई २४ सै घण्टा सुरक्षित खानेपानी आपूर्ति र काँकरभिट्टा मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रको व्यवस्थापन गर्दै आएको बताउनुभयो ।
खानेपानी संस्थाका प्रमुख दीपक प्रसाद पोखरेलले फोहोर व्यवस्थापन केन्द्रले मानव मलमूत्रको वैज्ञानिक व्यवस्थापन गर्दै वातावरण प्रदुषण न्यूनीकरणमा ठोस योगदान पु¥याएको बताउनुभयो ।
टोलीले मेचीनगर नगरपालिकाको वडा नंं ७ मा रहेको मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्र, सार्वजनिक शौचालय र समुदायमा खानेपानी तथा सरसफाइको अवस्थाबारे अवलोकन समेत गरेको थियो ।
यसका साथै चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रतिनिधिहरू सँग सरसफाइ सेवाको वर्तमान अवस्था, पहुँच विस्तारका सम्भाव्यता, र प्रविधिगत आवश्यकताका विषयमा छलफलमा गरिएको थियो।

‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ ले नगरभित्रको सुरक्षित तथा समावेशी सरसफाइ लगायत वातावरणीय सुधार, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा दिगो विकास लक्ष्य (SDG 6) प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यो कार्यक्रम झापाको मेचीनगरपालिका सहित देशका सात वटा नगरपालिकामा कार्यान्वयन भैरहेको छ ।

काँकरभिट्टा दिशा जन्य लेदो व्यवस्थापन प्रशोधन केन्द्रको अवलोकन ।
चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरूसँग अन्तर्क्रिया
मेचीनगर नगरपालिकाकी स्थायी बासिन्दा तारा कुमारी लिम्बु साबुन–पानीले मिचिमिची हात सफा गर्दै
मेचीनगर नगरपालिका अवस्थित सार्वजनिक शौचालय ।

तपाईको प्रतिक्रिया