ऊर्जामन्त्री खड्का भन्छन् — अब उत्पादन भएको विद्युत् खेर जाँदैन

काठमाडौं, – पश्चिम सेती करिडोरमा तीन जलविद्युत् आयोजना र ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि पाँच संस्थाबीच बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

ऊर्जा पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यसहित हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपीजीसीएल), चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेड (सीजेसीएल), चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड (सीएचएससी) र समृद्धि इन्जी लिमिटेड (एसईएल) बीच सहकार्य गरिएको हो।

ऊर्जामन्त्री दीपक खड्काले समझदारीपछिको कार्यक्रममा बोल्दै ऊर्जा विकासको मार्गचित्रअनुसार काम अघि बढ्दा उत्पादन भएको विद्युत् खेर नजाने स्पष्ट पारे। “ऊर्जा क्षेत्रमा यो सहकार्यले महत्त्वपूर्ण आशा जगाएको छ। अब उत्पादन भएको विद्युत् प्रयोगमा आउनेछ। सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्दै उत्पादन तथा बिक्रीमा आवश्यक वातावरण बनाउने प्रतिबद्धताका साथ अघि बढेको छ,” मन्त्री खड्काले बताए।

समझदारीअनुसार बझाङ–निलेगडा–दोधारा ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा तीन आयोजना—चैनपुर सेती (२१० मेगावाट), सेती नदी–३ (८७ मेगावाट) र बझाङ माथिल्लो सेती (२१६ मेगावाट)—को निर्माण, वित्तीय व्यवस्थापन र सञ्चालनमा सहकार्य हुनेछ। एचआईडीसीएलले परियोजनाको वित्त व्यवस्थापन नेतृत्व गर्नेछ भने आरपीजीसीएलले विशेष प्रयोजन कम्पनी (SPV)मार्फत प्रसारण लाइन निर्माणको जिम्मा लिनेछ।

यीमध्ये धेरै आयोजनाले निर्माण अनुमति, वातावरणीय प्रभाव मूल्यांकन, विद्युत् खरिद सम्झौता, ग्रीड जडान र लगानी स्वीकृतिका महत्त्वपूर्ण चरण पार गरिसकेका छन्। साथै प्रसारण लाइनका अध्ययन, डिजाइन तथा जग्गा अधिग्रहण कार्यसमेत सम्पन्न भइसकेको छ।

ऊर्जामन्त्री खड्काले सरकार र निजी क्षेत्रको सहकार्यबाट पश्चिम नेपालमा ऊर्जा पूर्वाधार विस्तार तीव्र हुने, राष्ट्रिय प्रसारण सञ्जाल थप सबल बन्ने र दीर्घकालीन रूपमा नेपाल–भारत विद्युत् व्यापारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया