गण्डकीमा अविरल वर्षाले जोखिम बढ्यो, प्रदेश सरकारद्वारा उच्च सतर्कता जारी

पोखरा । गण्डकी प्रदेशमा गए रातिदेखि जारी भारी वर्षाले बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै प्रदेश सरकारले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कास्कीको लुम्ले क्षेत्र तथा आसपासका स्थानमा भारी वर्षा भइसकेको र अझै वर्षा जारी रहने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। पोखरालगायतका जिल्लामा नदी, खहरे, खोलाखोल्सी र तालहरूको पानीको सतह खतराको सीमासम्म पुग्न थालेको जनाइएको छ।

गण्डकी प्रदेश सरकारको तर्फबाट आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थानमा यात्रा गर्दा सावधानी अपनाउन, जोखिमयुक्त क्षेत्रमा सतर्क रहन र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ।

“गएका केही घण्टायता प्रदेशका विभिन्न ठाउँमा जनधनको क्षतिको खबर आइरहेका छन्। बाढी, पहिरो र डुबानको सम्भावित खतरा अझै बाँकी छ। जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकहरू सजग र सचेत रहनुहोला,” सूचनामा भनिएको छ।

प्रदेश सरकारले बिपद्‌ व्यवस्थापनमा जुट्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारी संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

सरकारले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा आफू नागरिकको साथमा रहने प्रतिबद्धता पनि जनाएको छ।

तपाईको प्रतिक्रिया