सेयर बजारमा जोरदार उछाल, नेप्से २८ सय नजिक पुग्यो, कारोबार रकम १४ अर्ब नाघ्यो

काठमाडौँ — बुधबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.०३ मा पुगेको छ, जसले बजारलाई २८ सय नजिक पुर्‍याएको छ।

मंगलबार ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार कारोबार रकम उल्लेखनीय रूपमा बढेर १४ अर्ब ३ करोड रुपैयाँ नाघेको छ।

बुधबारको कारोबारमा १९३ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको मूल्य घटेको छ। सबैभन्दा धेरै विकास बैंकको सेयर मूल्य ३.८६ प्रतिशतले बढेको छ। अन्य महत्वपूर्ण क्षेत्रीय सूचकहरूमा बैंकिङ १.५९%, फाइनान्स ०.७५%, होटल तथा पर्यटन ०.५९%, जलविद्युत् १.२८%, लगानी ०.५२%, जीवन बीमा ०.६६%, उत्पादन तथा प्रशोधन १.३९%, माइक्रोफाइनान्स र निर्जीवन बीमा दुबै १.८५%, र अन्य क्षेत्र ०.३३ प्रतिशतले बढेका छन्।

थ्रीस्टार हाइड्रोपावरको मूल्यमा १० प्रतिशतको प्रभावशाली वृद्धि भएको छ। ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.४१%, अपरहेवाखोला जलविद्युत् ८.३०%, कर्पोरेट डेभलपमेन्ट बैंक ८.०३%, फरवार्ड माइक्रोफाइनान्स ७.८४% र बुटवल पावर ६.७९% ले बढेका छन्।

यस्तै, बुधबारको कारोबारमा व्यापार क्षेत्र ०.१८% ले घटेको छ। माइखोला हाइड्रोपावरको मूल्य ७.८७%, नारायणी डेभलपमेन्ट बैंक २.९०% र उन्नति सहकार्य लघुवित्त २.१४% ले मूल्य घटाएका छन्।

कारोबार रकमका आधारमा बुटवल पावर, राधि विद्युत्, सानिमा माई हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा उत्कृष्ट पाँच कम्पनीको सूचीमा परेका छन्।

तपाईको प्रतिक्रिया