सेप्टेम्बरदेखि खुल्दै फिफा विश्वकप २०२६ का टिकट आवेदन

काठमाडौं — फिफा विश्वकप २०२६ का लागि पहिलो चरणमा टिकट आवेदन प्रक्रिया १० सेप्टेम्बर २०२५ देखि सुरु हुँदैछ।

फुटबलको सर्वोच्च संस्था फिफाले बुधबार जानकारी दिँदै भनेको छ कि दर्शकहरूले FIFA.com/tickets मा गएर आफ्नो टिकट किन्ने आवेदन र फिफा आइडी बनाउन सक्नेछन्।

फिफा अध्यक्ष जियानी इनफान्टिनोले संयुक्त राज्य अमेरिकामा सम्पन्न फिफा क्लब विश्वकप सफलतापछि विश्वकप २०२६ को उत्साह चरममा पुगेको बताएका छन्। क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न लागेको यो विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य खेलकुद कार्यक्रम हुनेछ।

विश्वकप २०२६ को उद्घाटन खेल ११ जुन मेक्सिको सिटीमा हुनेछ भने अन्तिम खेल १९ जुलाई न्यूयोर्क, न्यू जर्सीमा आयोजना गरिनेछ। यी दुई सहरले हालै सम्पन्न फिफा क्लब विश्वकपको फाइनल सफलतापूर्वक सञ्चालन गरेका थिए।

यो विश्वकपमा ४८ टोली सहभागी हुनेछन् र १०४ खेलहरू आयोजना हुने छन्। ६.५ मिलियनभन्दा बढी दर्शकको उपस्थिति हुने अनुमान गरिएको छ।

फिफाले टिकटको अत्यधिक माग हुने भएकाले विभिन्न चरणमा टिकट बिक्री हुने जानकारी दिइरहेको छ र दर्शकहरूलाई पूर्व तयारी गरी आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया