नेप्से २५ अंकले उकालो, साढे ९ अर्बको सेयर कारोबार

काठमाडौं — साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा उकालो लागेको छ। नेप्से सूचक २५.८९ अंकले बढ्दै २७३१.८० विन्दुमा पुगेर बन्द भएको हो।

बुधबार नेप्से २२.०४ अंकले वृद्धि भएर २७०५.९० विन्दुमा पुगेको थियो भने आजको कारोबारले सोभन्दा अझ राम्रो सुधार देखाएको हो।

साता प्रारम्भ आइतबार सामान्य वृद्धि देखिएको नेप्से सोमबार र मंगलबार भने ओरालो लागेको थियो। तर, बुधबारदेखि सुधारको संकेत देखिएको सूचकले बिहीबार समेत दोहोरो अंकको वृद्धि गर्दै सकारात्मक सन्देश दिएको छ।

नेप्से उकालो लागेसँगै कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। बिहीबार ३१२ स्क्रिप्सका २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच भई कुल कारोबार ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ पुगेको छ। बुधबार सो कारोबार करिब ७ अर्ब ४५ करोड रुपैयाँ थियो।

हालको सुधारसँगै पनि कुनै कम्पनीले सकारात्मक सर्किट लेभलमा कारोबार गरेनन्। तर माइ खोला हाइड्रोपावरको सेयर सर्वाधिक ८.१५ प्रतिशतले वृद्धि भयो। त्यस्तै मान्डु हाइड्रोपावर, समता घरेलु लघुवित्त तथा भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयरमा करिब ६ प्रतिशतको वृद्धि देखियो।

विपरीत रूपमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्। सो कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रह्यो, जसको ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। बुटवल पावरले ३२ करोड, सानिमा बैंकले २६ करोड, र सप्तकोशी डेभलपमेन्ट बैंकले १९ करोडको सेयर कारोबार गरे।

आजको दिन १६१ कम्पनीका सेयर मूल्य बढेका छन् भने ८७ कम्पनीका घटेका छन्। दुई समूहबाहेक सबै सूचक सकारात्मक देखिएका छन्, जसमा बैंकिङ समूहको उपसूचक सबैभन्दा बढी ३.०२ प्रतिशतले उकालो लागेको छ।

तपाईको प्रतिक्रिया