उपल्लो मुस्ताङमा बाढीले सात पुलमा पूर्ण क्षति, रिङरोडसहित सडक आवागमन ठप्प

मुस्ताङ — उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा आएको आकस्मिक बाढीले स्थानीय पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि सुरु गरिएको प्रारम्भिक अनुगमनमा कुल सातवटा पुल पूर्ण रूपमा ध्वस्त भएको पुष्टि भएको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विकास केसीसहितको टोलीले बुधबार प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै क्षतिको यकिन गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार, लोमान्थाङ–४ चुम्जुङस्थित छुआमा खोलामा रहेको शाखा सडकमा निर्माण गरिएका तीनवटा पक्की, एक फलामे र तीनवटा काठे पुल पूर्ण रूपमा बगाएको छ।

यसबाट करिब डेढ करोड रुपैयाँभन्दा बढीको संरचनागत क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि बाढीले मानव वा पशुजन्य क्षति भने पुर्‍याएको छैन।

स्थानीय प्रशासनका अनुसार बाढी आएको बेला सो क्षेत्रमा वर्षा नभएको र उच्च लेकमा अवस्थित हिमताल फुटेको आशङ्का गरिएको छ। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा रहेका हिमतालहरू जोखिमपूर्ण अवस्थामा छन्।

पुलहरू क्षतिग्रस्त भएपछि रिङरोडसहितका शाखा सडकहरूमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय तहले सडक तथा पुल मर्मतका लागि यथाशीघ्र पहल सुरु गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया