वैदेशिक रोजगारीको नाउँमा ४५ जनाबाट एक करोड ८० लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौं । आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर ४५ जनाबाट एक करोड ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्ने र रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भएका ३२ वर्षीय रोहन भनिने फिन्चु लामा रहेका छन्।

लामाले लिथुआनिया, रोमानिया लगायतका युरोपेली मुलुकहरूमा रोजगारी दिलाइदिने भन्दै एक करोड ८० लाख ९३ हजार रुपैयाँ संकलन गरेका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन भएको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं–१० बाट शुक्रबार पक्राउ गरेको हो।

पक्राउ परेका लामालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया