जापानले भन्सार विवादमा ट्रम्पसँग सजिलै सम्झौता नगर्ने : प्रधानमन्त्री इसिबा

काठमाडौं – जापानका प्रधानमन्त्री सिगेरु इसिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी वस्तुहरूमा लगाउन खोजेको उच्च भन्सार शुल्कविरुद्ध टोकियो सजिलै झुक्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

आइतबार एक टेलिभिजन टक शोमा बोल्दै प्रधानमन्त्री इसिबाले भने, ‘‘हामी सजिलै सम्झौता गर्नेछैनौं। त्यसैले वार्ता लामो भइरहेको छ र कठिन पनि छ।’’

उनको यो टिप्पणी जापान–अमेरिका व्यापार सम्झौता गर्नका लागि तय गरिएको बुधबारको समयसीमाअघि आएको हो। ट्रम्प प्रशासनले जापानी वस्तुहरूमा ३०–३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने चेतावनी दिएपछि जापान वार्ताका लागि दबाबमा परेको छ।

अप्रिलमा ट्रम्पले धेरैजसो व्यापारिक साझेदारबाट आयातमा १० प्रतिशत भन्सार शुल्क लगाए पनि जापानलगायत केही अर्थतन्त्रहरूमा अझै उच्च दर लागू गर्ने चेतावनी दिएका थिए। ट्रम्पले जापानलाई थप अमेरिकी अटोमोबाइल र चामल आयात गर्न दबाब दिँदै पत्र पठाएका थिए, जसमा उनले जापान–अमेरिका व्यापार सम्बन्धलाई ‘अनुचित’ पनि भनेका छन्।

यस विषयमा वार्ता गर्न जापानी व्यापार दूत रियोसेइ अकाजावा र अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकबीच बिहीबार र शनिबार टेलिफोन संवाद भएको थियो।

प्रधानमन्त्री इसिबाले जापानलाई अमेरिका भित्रको सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा मूल्याङ्कन गर्नुपर्ने बताए। ‘‘हामी अमेरिका भित्र रोजगारी सिर्जना गर्ने प्रमुख देश हौं। यस्तो अवस्थामा हामीलाई फरक व्यवहार गरिनुपर्छ,’’ उनले भने, ‘‘हामी सहयोगी त हौं, तर हाम्रो भनाइ स्पष्ट भन्न पनि पछि हट्दैनौं।’’

त्यसै कार्यक्रममार्फत इसिबाले ट्रम्पको पत्रप्रति प्रतिक्रिया दिँदै भने, ‘‘हामी सबै खालका परिस्थितिको सामना गर्न तयारी गरिरहेका छौं।’’

तपाईको प्रतिक्रिया