सिंहदरबार परिसरबाट हराएको सरकारी गाडी सचिवकै निवासमा फेला

काठमाडौँ, – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्वामित्वमा रहेको एक सरकारी सवारीसाधन सिंहदरबार परिसरबाट हराएको भन्दै खोजी कार्य सुरु गरिएकोमा उक्त गाडी मन्त्रालयका सचिवको निवासमै रहेको खुलेको छ।

महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको गाडी हराएको भन्दै मन्त्रालयले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथलाई पत्राचार गर्दै खोजतलास तथा कानुनी कारबाहीको आग्रह गरेको थियो।

असार १५ गते जारी पत्रमा भनिएको छ, “उक्त सवारीसाधन जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरी प्रचलित कानुन अनुसार सो कार्यमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान तथा मुद्दा दर्ता गरियोस्।” सो अनुरोध नेपाल सरकारको सचिवस्तरीय निर्णय अनुसार गरिएको उल्लेख छ।

तर, श्रममन्त्री शरत्सिंह भण्डारीले उक्त गाडी मन्त्रालयकै सचिवको निवासमा रहेको र प्राप्त भइसकेको स्पष्ट पार्दै, “यो विषयलाई अनावश्यक रूपमा स्टन्टबाजी गरेर बाहिर ल्याइएको हो,” भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने मन्त्रालयको पत्रअनुसार खोजीका लागि प्रहरीलाई पठाइएको बताए। तर अहिलेसम्म प्रहरीतर्फबाट कुनै थप जानकारी प्राप्त नभएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया