नेपालमा लगानी गर्न मलेसियाली लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं, – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियाली लगानीकर्तालाई आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री पौडेलले नेपालमा लगानीका लागि आवश्यक वातावरण र नीति तयार रहेको उल्लेख गर्दै थप लगानीको आह्वान गरेका हुन्।

“निजी क्षेत्रबाट लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो। सरकार लगानीमैत्री नीति र सहजीकरणका पक्षमा प्रतिबद्ध छ,” उनले भने, “लगानीका क्षेत्रहरू पहिचान गरेर तयारीपूर्वक अघि बढ्नुस्, सरकार पूर्ण साथमा रहनेछ।”

प्रतिनिधिमण्डलका सदस्यहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण र पर्यटन क्षेत्रलगायतमा लगानी गर्ने रुचि व्यक्त गरेका छन्।

प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एम.के. सङ्ग्राह लगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया