काठमाडौंमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न, ३५० युवा उद्यमीको सहभागिता


काठमाडौँ — राष्ट्रिय युवा परिषद्को आयोजनामा संघीय तहको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन–२०८२ सोमबार काठमाडौंमा सम्पन्न भएको छ। परिषद्ले यसअघि सातवटै प्रदेशमा सम्मेलन सम्पन्न गरेपछि केन्द्रीय तहमा कार्यक्रम सम्पन्न गरेको हो।

सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए। उद्घाटन सत्रमा उनले युवाहरूको उद्यमी सोच, सीप, ज्ञान र क्षमतालाई राष्ट्रनिर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए। जलविद्युत्, पर्यटन, जडिबुटी लगायतका क्षेत्रसँग जोडिएका उद्यमलाई प्रोत्साहन गर्दै उनले दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउनुपर्ने धारणा राखे।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्मेलनमा सिप, उद्यमशीलता र रोजगारीलाई सँगै लैजानुपर्नेमा जोड दिए। उनले सरकारले ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ मनाउने तयारीमा रहेको पनि जानकारी गराए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवा लक्षित व्यावसायिक परियोजनालाई प्रवर्द्धन गर्न उद्योग मन्त्रालयले ५ लाखदेखि २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा दिने योजना सुरु गरिसकेको जानकारी दिए।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन युवालाई उद्यममा प्रोत्साहन गर्नुपर्ने बताए। सम्मेलन युवालाई प्रेरणा दिने, नयाँ स्टार्टअपका लागि लगानीकर्तासँग जडान गराउने थलो बन्ने विश्वास व्यक्त गरे।

‘समृद्धिका साझा सवाल’ शीर्षकमा आयोजित प्यानल सत्रमा सांसदहरू पदम गिरी, उदयशमशेर राणा, माधव सापकोटा र सोविता गौतम सहभागी थिए। उनीहरूले उद्यमशीलता नै समृद्धिको मार्ग भएको धारणा राखे।

‘युवाका लागि अबको निकास : रोजगारी, उद्यमशीलता र सिप विकास’ शीर्षकमा भएको अर्को प्यानल छलफलमा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, तथा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले युवा उद्यम प्रवर्द्धनका चुनौती र सम्भावनाबारे विचार राखे।

त्यसैगरी स्टार्टअप, सहुलियत कर्जा र वित्तीय पहुँचसम्बन्धी सेसनमा राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्ररमण खनाल, नविल बैंकका सीईओ मनोज ज्ञवाली र उद्यम अभियन्ता रञ्जित आचार्यले आ–आफ्ना प्रस्तुतीकरण दिए।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तीनै तहका सरकारहरूबाट सञ्चालन भइरहेका युवा लक्षित कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै वित्तीय पहुँच, स्टार्टअप, सहुलियत कर्जा जस्ता बहुआयामिक विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए।

सम्मेलनमा अनलाइन आवेदन प्रक्रियामार्फत देशभरका ३५० युवा उद्यमीको सक्रिय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया