नेपाल सेमिफाइनलमा, मलेसियासँग प्रतिस्पर्धा हुने

काठमाडौं — एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार क्वालालम्पुरमा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित यात्रालाई कायम राखेको हो।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको विशाल योगफल बनायो। नेपाली ब्याट्सम्यान रौनकले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रनको शानदार शतकीय इनिङ खेले। उनले जोय थापासँग पाँचौँ विकेटका लागि १७० रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रनको योगदान दिए।

भुटानका बलर सञ्जय दोर्जिले ३ विकेट लिँदा तेन्जिन लोदेले १ विकेट लिए।

३५९ रनको कठिन लक्ष्य पछ्याउन उत्रिएको भुटानी टोली ३२.४ ओभरमा ६० रनमै समेटिएको थियो। भुटानका छेजाङ दावाले १४ रन र उगेन केल्जाङ चोपेलले १० रन बनाए, अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका बलर विपीनप्रसाद शर्माले १० ओभरमा ६ मेडनसहित मात्र ७ रन खर्चिएर ४ विकेट लिए। सुयोग भट्टराई र सचिन भट्टले समान २–२ विकेट लिए।

यस जितसँगै नेपालले समूह चरणका चारै खेल जित्दै ८ अंकसहित समूह ‘ए’को विजेता बन्यो। नेपालले यसअघि इन्डोनेसियालाई ३७० रनले, जापानलाई ९ विकेटले र सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो।

समूह ‘ए’को उपविजेता सिंगापुर ६ अंकसहित सेमिफाइनलमा पुगेको छ। अब नेपालले आगामी जुलाई ३ मा समूह ‘बी’को उपविजेता मलेसियासँग सेमिफाइनल खेल्नेछ भने सिंगापुरले समूह ‘बी’को विजेता हङकङ चाइनासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया