आफूलाई प्रहरीको रूपमा चिनाउँदै अपहरण र लुटपाट गर्ने दुई जना पक्राउ

विराटनगर । आफूलाई प्रहरी परिचय दिएर अपहरण तथा लुटपाटमा संलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विराटनगर–८ निवासी २४ वर्षीय समीर हुसेन र विराटनगर–६ निवासी २५ वर्षीय तासिब अन्सारी रहेका छन्।

घटनामा संलग्न अर्का एक जना भने हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार, फरार व्यक्तिको पहिचान खुलाइएको छ र शीघ्र पक्राउ गरिने प्रयास जारी छ।

प्रहरीका अनुसार, असार ११ गते बिहान करिब ११ः१५ बजे तीन जनाको समूहले आफूहरू प्रहरी भएको भन्दै विराटनगर महानगरपालिका–१३ स्थित महतो टोलबाट विक्रमकुमार साहलाई अपहरण गरेका थिए। त्यसपछि उनीहरू विक्रमलाई आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेर धम्की दिँदै साथमा रहेको नगद रकम लुटेर फरार भएका थिए।

पीडितका भिनाजु धर्मानन्द साहका अनुसार, विक्रमले सापटी तिर्नको लागि लिएको तीन लाख ६४ हजार रुपैयाँ लिएर घर फर्कँदै गर्दा अपहरणमा परेका थिए। अन्सारी नेतृत्वको समूहले विक्रमलाई नियन्त्रणमा लिएर पछाडि फर्किए ज्यान मार्ने धम्की दिँदै लुटपाट गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ।

पक्राउ परेकामाथि डाँका सम्बन्धी मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया