बुटवल उपमहानगरको ३ अर्ब ३६ करोडको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता

बुटवल – बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

सोमबार नगरसभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले चालु खर्चतर्फ ४९ प्रतिशत र पुँजीगत खर्चतर्फ ५१ प्रतिशत विनियोजनसहित बजेट प्रस्तुत गरेकी हुन्।

उक्त बजेटमा बुटवलले आन्तरिक स्रोतबाट मात्रै ९५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ।

शिक्षा, युवा, महिला र स्वास्थ्यमा विशेष जोड

उपप्रमुख अर्यालका अनुसार, कलेज तहका विद्यार्थीलाई ट्राफिक व्यवस्थापनमा परिचालन गरी अध्ययनसँगै रोजगारी सिर्जना गर्ने कार्यक्रम प्राथमिकतामा राखिएको छ, जसका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

निजी क्षेत्रसँग सहकार्यमा समृद्ध बुटवल बनाउने अभियान अन्तर्गत सहकार्यमा कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।

बुटवललाई पर्यटकीय विश्रामस्थल र सांस्कृतिक सहरको रूपमा विकास गर्न क्रमशः ५० लाख र १ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

विद्यालय सुधार, कृषि कार्यक्रम, छात्राहरूका लागि ‘छोरी पढाउँ’ कार्यक्रम, विपन्न बालबालिकाका लागि पोशाक तथा शैक्षिक सहयोग, डिजिटल शिक्षा, स्थानीय पाठ्यक्रम सुधार लगायतका कार्यक्रमका लागि करोडौं रुपैयाँ छुट्याइएको छ।

स्वास्थ्यमा सामुदायिक पहुँच र महिलाका लागि विशेष कार्यक्रम

‘बाआमासँग नगर प्रमुख’ कार्यक्रमअन्तर्गत घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम सञ्चालन गर्न ९० लाख रुपैयाँ छुट्याइएको छ। महिलाका लागि पाठेघर, स्तन क्यान्सरजस्ता स्वास्थ्य परीक्षण कार्यक्रम, एक्सरे सुविधा लगायतका सेवाका लागि ३० लाख छुट्याइएको छ।

बुटवल–१३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालनका लागि ६० लाख छुट्याइएको छ।

सफा शहर, महिला सशक्तीकरण र पर्यटन प्रवर्द्धनमा जोड

‘मेरो टोल म सफा गर्छु’ अभियानका लागि ७० लाख, पाल्पाको तिनाउ गाउँपालिका मुहान क्षेत्रको विकाससहित झुम्सा खानेपानी ल्याउन २ करोड, गृहिणी महिलालाई स्वरोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड बजेट विनियोजन गरिएको छ।

दलित समुदायका परम्परागत पेशालाई संरक्षण गर्दै सीप विकास केन्द्रका रूपमा सञ्चालन गर्न ८५ लाख र मुख्य सडक तथा भित्री सडकहरू हरियाली बनाउन ३ करोड रुपैयाँ छुट्याइएको छ।

जितगढी किल्ला नजिक आरती केन्द्र निर्माणका लागि ५ करोड, गौशालाको व्यवस्थापनका लागि १ करोड, नयाँ गौशाला निर्माणका लागि थप स्थानहरूमा कार्य अगाडि बढाइने उपप्रमुखले जानकारी दिइन्।

किसान, सीप विकास र सुकुम्बासी व्यवस्थापनमा ध्यान

किसान समूहलाई उपकरण खरिदमा १ करोड अनुदान, दुग्ध किसानलाई ५० लाख प्रोत्साहन, कालिकापथ, अमरपथ र ट्राफिकचोक क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन गर्न ५० लाख विनियोजन गरिएको छ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबासको नापजाँच व्यवस्थापनका लागि १ करोड ५० लाख र पुनः नापीका लागि २ करोड छुट्याइएको छ।

नगर प्रमुखको घोषणा : बुटवल भ्रमण वर्ष मनाइने

यसअघि, नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिमा प्राथमिकता दिने बताए।

पढाइसँगै रोजगारी, नि:शुल्क प्राविधिक शिक्षा, परम्परागत सीप प्रवर्द्धन, ‘कोशेली घर’ स्थापना, बहुउद्देश्यीय कामधेनु गौशाला, र ‘घुमौं बुटवल’ अभियान अन्तर्गत बुटवल भ्रमण वर्ष मनाउने घोषणा उनले गरेका थिए।

तपाईको प्रतिक्रिया