थाई प्रधानमन्त्री पेटोन्टार्न संकटमा: ‘कम्बोडियन काका’सँगको गोप्य संवाद लिक भएपछि सरकार धरापमा

काठमाडौँ, थाईल्यान्डकी प्रधानमन्त्री पेटोन्टार्न शिनावात्रा गम्भीर राजनीतिक संकटमा परेकी छन्। कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग गरिएको गोप्य फोन संवाद लिक भएपछि गठबन्धन सरकार नै ढल्ने संघारमा पुगेको हो।

सार्वजनिक भएको फोनवार्तामा पेटोन्टार्नले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै थाई सैन्य कमान्डरलाई बर्खास्त गर्ने संकेत गरेकी छन्। यसले थाइल्याण्डभित्रको शक्तिशाली सैन्य संरचना र राष्ट्रवाद समर्थक समूहमा आक्रोश पैदा गरेको छ। विरोधको चर्को दबाबका बीच प्रधानमन्त्री पेटोन्टार्नले माफी मागेकी छन्।

उनको नेतृत्वमा रहेको प्यू थाई पार्टीले नेतृत्व गरेको गठबन्धन सरकारबाट दोस्रो ठूलो दल ‘भुमजाइथाई’ बाहिरिएपछि सरकारको बहुमत सङ्कटमा परेको छ। अन्य दुई साना गठबन्धन दलहरूले पनि समर्थनबारे बिहीबारपछिको छलफलमा निर्णय लिने जनाएका छन्।

विपक्षी नेताहरूले पेटोन्टार्नको कदमलाई राष्ट्रिय सुरक्षासँग खेलवाड भएको आरोप लगाउँदै राजीनामा माग गरेका छन्। आलोचकहरूका अनुसार उनले सार्वजनिक रूपमा शक्तिशाली सेनाको आलोचना गर्नु, विदेशीसँग ‘पारिवारिक शैली’मा संवाद गर्नु र एक सैन्य कमान्डरलाई बर्खास्त गर्ने वाचा गर्नु गम्भीर विषय हो।

शिनावात्रा परिवार र हुन सेनबीचको दशकौँ लामो पारिवारिक सम्बन्ध यस घटनासँग पुनः चर्चामा आएको छ। हुन सेन र पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा (पेटोन्टार्नका पिता) एकअर्कालाई दाजुभाइसरह मान्ने गरिएको बताइन्छ।

अडियो कसरी लिक भयो?

हुन सेनले फोन वार्ता कम्तीमा ८० नेताहरूसँग सेयर गरेको दाबी गरेका छन्। उनी भन्छन्, “तीमध्ये एक जनाले क्लिप लिक गरे।” पछि उनले १७ मिनेट लामो अडियो क्लिप आफ्नै फेसबुकबाट सार्वजनिक गरेका थिए।

प्रधानमन्त्री पेटोन्टार्नले संवादलाई सामान्य कूटनीतिक शैलीको वार्ता भन्दै बचाउ गरेकी छन्। तर आलोचकहरू यसलाई देशको विदेश नीति र सुरक्षा रणनीतिसँग असम्वेदनशील व्यवहार भएको भन्दै प्रश्न गरिरहेका छन्।

तपाईको प्रतिक्रिया