निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको आपत्ति

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट निजामती सेवा विधेयक हटाइएकोप्रति आपत्ति जनाएको छ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा बोल्दै अघिल्लो बैठकमा विधेयक पारित गर्ने सहमति भइसकेको अवस्थामा कार्यसूचीबाट नै हटाइनु आपत्तिजनक भएको बताएका हुन्।

“हामीले यस्तै अरू विधेयकहरू पनि शीघ्र पारित होऊन् भनेर बैठकलाई अघि बढाउने सहमति गरेका थियौं,” पाण्डेले भने, “तर आजको कार्यसूचीमा निजामती सेवा विधेयक नै छैन, यसप्रति हाम्रो गम्भीर असहमति छ।”

पाण्डेले सरकार विधेयक पारित गर्ने विषयमा प्रतिबद्ध भए पनि व्यवहारमा त्यसअनुसार काम नगरेको आरोपसमेत लगाए। उनका अनुसार, मंगलबारको कार्यसूचीमा समावेश गरिए पनि सो दिन बैठक स्थगित गरिएको र बिहीबारको कार्यसूचीबाट हटाइएको विधेयकलाई तत्काल पुनः कार्यसूचीमा राख्नुपर्ने आवश्यकता छ।

निजामती सेवा विधेयकको प्रमुख विवादास्पद बुँदा “कुलिङ पिरियड” रहेको बताइएको छ। उक्त अवधिबारे सत्ता गठबन्धनका दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति नजुट्दा विधेयक अघि बढ्न नसकेको स्रोतको दाबी छ।

यसअघि संसदीय समितिले दुई वर्षको कुलिङ पिरियड रहने प्रस्तावसहित विधेयक प्रतिनिधिसभामा पठाएको थियो। तर कार्यसूचीमा पर्नु अघिसम्म पनि सत्तारूढ दलहरूबीच छलफल टुंगोमा पुग्न नसकेको देखिएको छ।

माओवादी केन्द्रले सरकारको ढिलासुस्तीले विधेयक प्रक्रियामै अड्किने हो कि भन्ने चिन्ता व्यक्त गर्दै संसदमा विरोध जनाएको हो।

तपाईको प्रतिक्रिया