कर्णाली प्रदेश सरकारले ३९० वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने

दैलेख । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै ३९० वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने भएको छ। बुधबार सार्वजनिक भएको बजेट वक्तव्यअनुसार, ती विद्यालयहरूमा पूर्वाधार निर्माण तथा विकासका लागि बजेट विनियोजन गरिएको हो।

प्रदेश सरकारको लक्ष्य शिक्षालाई गुणस्तरीय, उद्यमशील, रोजगारमुखी र जीवन उपयोगी बनाउने रहेको छ। यसका लागि शैक्षिक पूर्वाधार निर्माणसँगै नवीनतम प्रविधिको प्रयोग तथा शैक्षिक सामग्रीको व्यवस्थापनमा पनि ध्यान दिइने भएको छ।

विगतमा सुरु भएर निर्माण अधुरा रहेका विद्यालय भवनहरू सम्पन्न गर्नका लागि सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ। साथै, कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै एसईई डिजिटल शिक्षा सहयोग कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रम तथा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रमका लागि १६ करोड रुपैयाँ छुट्याइएको छ।

प्रदेश सरकारले स्थानीय तहको साझेदारीमा एक निर्वाचन क्षेत्र, एक आवासीय सुविधा सहितको ठुलो विद्यालय विकास कार्यक्रम पनि ल्याउने भएको छ, जसका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

युवाहरूलाई प्राविधिक ज्ञान र सिपमा दक्ष बनाउने उद्देश्यसहित प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम प्रदायक संस्थाहरूको गुणस्तर सुधार, धार्मिक तथा परम्परागत विद्यालय सञ्चालन, र ‘हामी सुधार्छौँ हाम्रो विद्यालय’ अभियान पनि बजेटमा समेटिएको छ।

विद्यार्थी र शिक्षक अनुपात असन्तुलित रहेका विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक व्यवस्थापन गर्न अनुदान सहयोग दिइनेछ।

यसैगरी, मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गर्ने र प्रदेशमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न प्रयोगशाला सुदृढीकरणका लागि आवश्यक उपकरण खरिद गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया