नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो


काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार ओरालोतिर लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.९० अंकले घट्दै २६५४.७५ विन्दुमा अडिएको हो। अघिल्लो दिन सोमबार २.८० अंकको वृद्धि हुँदै सूचक २६५८.६६ विन्दुमा पुगेको थियो।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ३०६ कम्पनीका १ करोड ६४ हजार ७७५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँमा सीमित भयो। यसअघिको दिन सोमबार भने १३ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यद्यपि केही कम्पनीका सेयर मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पियोर इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि हुँदै सर्किट लेभलमा पुगेको छ। त्यसैगरी, बुटवल पावर कम्पनी र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ।

कारोबार रकमको आधारमा सानिमा माइ हाइड्रोपावर अग्रस्थानमा रह्यो। कम्पनीको ७४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। त्यसपछि बुटवल पावरको ६० करोड, नगदी ग्रुपको ४६ करोड, राधी विद्युतको ३८ करोड र सोल्टी होटलको ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

मंगलबारको कारोबारमा ९९ वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने १४८ वटाका घटेका छन्।

उपसमूह सूचकको सन्दर्भमा हाइड्रोपावर, माइक्रोफाइनान्स, र ट्रेडिङ समूहको सूचकमा सुधार देखिएको छ। अन्य सबै समूहको सूचक भने घटेको छ।

तपाईको प्रतिक्रिया