धरान उपमहानगरमा मेयर र उपमेयरका समर्थक आमनेसामने, कार्यालय परिसर तनावग्रस्त

धरान उपमहानगरपालिकाको कार्यालय परिसर मंगलवार बिहान तनावग्रस्त बनेको छ। मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरूबीच आमनेसामने झडपको स्थिति सिर्जना भएको हो।

धरान–१७ का वडाध्यक्ष तथा उपमहानगर प्रवक्ता सूर्य भट्टराईका अनुसार मेयरका समर्थकहरूले उपमेयरमाथि आक्रोशित भएर धक्का-मुक्की गर्न खोजेपछि स्थिति उत्तेजित भएको हो। त्यसलगत्तै उपमेयर बेघाका समर्थक, विशेष गरी माओवादी कार्यकर्ता, समेत नगर कार्यालयमा भेला भएका थिए। दुबै पक्षले कार्यालय परिसरमा नाराबाजी गरेका थिए।

भट्टराईले भने, “हर्क साम्पाङका समर्थक खुकुरीसहित आएर उपमेयरमाथि आक्रमण प्रयास गर्दै थिए, त्यसपछि तनाव चुलियो। अहिले नगर प्रमुखको व्यवहारले नगरपालिकाभित्र अराजक स्थिति पैदा गरेको छ।”

तत्कालीन तनावको पृष्ठभूमि भने सोमबारदेखि नै देखिन थालेको थियो। नयाँ आर्थिक वर्षका लागि बजेटको सिलिङ निर्धारण भइरहेका बेला पनि मेयर समर्थकहरूले नगर कार्यालयमा भिड जमाएका थिए। सोमबार पनि उपमेयरमाथि हातपातको प्रयास भएको थियो।

तनावको जडः श्रमदान र उपभोक्ता समिति विवाद

यस विवादको मूल कारण धरान–१६ स्थित एक बहुभाषिक विद्यालयमा राखिएको ग्याबिन जालीसम्बन्धी परियोजना हो। उक्त कार्य केही महिना अघि मेयर साम्पाङको अगुवाइमा श्रमदानमार्फत सम्पन्न गरिएको थियो। तर, पछि मेयरले सोही कार्यको पुनः लागत अनुमान (री–इस्टिमेट) गराएर धरान–१६ बाहिरका व्यक्तिलाई संयोजक बनाई उपभोक्ता समिति गठन गरी नगर कार्यालयमा भुक्तानीको बिल पेश गरेका थिए।

उपमेयर बेघाले भने श्रमदानबाट भइसकेको काममा नयाँ समिति बनाएर बिल पेश गर्नु अनियमित र कानुनविपरीत भएको भन्दै भुक्तानी अस्वीकार गरेकी हुन्।

“श्रमदानको काममा पछि बिल बनाएर पैसा झिक्न खोज्नु कानुनी हैसियतमा आउँदैन,” उपमेयर बेघाले भनिन्, “म त्यसको भुक्तानी हुन दिने पक्षमा छैन।”

मेयरको प्रतिक्रिया

मेयर साम्पाङले भने श्रमदानको पनि मूल्यांकन भई नगरबाटै भुक्तानी हुनु पर्ने अडान राखेका छन्। उनले मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै भने, “धरान कसरी चलाउने भन्ने मलाई थाहा छ। म जनताको आदेशमा काम गर्छु, जनताभन्दा ठूलो कोही छैन।”

धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले मेयर साम्पाङले आफ्ना नजिकका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर अनियमित ढंगले रकम भुक्तानी गराउन खोजेको आरोपसमेत लगाएका छन्। उनका अनुसार धरान–१४ निवासी प्रसाद राईलाई समितिको संयोजक बनाइएको छ, जो मेयर साम्पाङका कट्टर समर्थक मानिन्छन्।

स्थानीय प्रशासनले अहिले स्थिति नियन्त्रणमा राख्न प्रयास गरिरहेको छ।

तपाईको प्रतिक्रिया