नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार


काठमाडौं — साताको कारोबार मध्यदिन बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। बजार ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो दिनभन्दा सामान्य वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार दिनभर २४४ वटा कम्पनीका ३०७ स्क्रिपमा २ करोड २० लाख ७५ हजार कित्ताभन्दा बढी सेयर किनबेच भएका छन्। यसबाट कुल कारोबार रकम ९ अर्ब ९० करोड ७० लाख रुपैयाँ नाघेको छ।

आजको बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ। कुल १७० कम्पनीको सेयर मूल्य घट्दा ७७ कम्पनीको मूल्य बढेको र १ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

हाइड्रो समूहमा हरियाली, अन्य सबै समूहमा गिरावट

आज हाइड्रोपावर समूहबाहेक अन्य सबै सूचकमा गिरावट आएको छ। हाइड्रो सूचक भने १.१३ प्रतिशतले वृद्धि भएको छ। बजार समग्रमा ओरालो लागेपनि केही कम्पनीका लगानीकर्ताहरूले उल्लेख्य नाफा कमाएका छन्।

पियोर इनर्जी र सिनर्जी पावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ।

उच्च कारोबार गर्ने कम्पनीहरू

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा सानिमामाई हाइड्रोपावर (५९ करोड २७ लाख) र तेस्रोमा बुटवल पावर कम्पनी (५८ करोड ४८ लाख) रहेका छन्।

तपाईको प्रतिक्रिया