गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहित नागरिकता दिन सरकार समक्ष माग

काठमाडौं — गैरआवासीय नेपालीहरूले राज्यका निकायले मान्यता दिने नेपाली नागरिकता प्रदान गर्न माग गरेका छन्। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा, नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकमाथि छलफलका क्रममा उनीहरूले यस्तो माग राखेका हुन्।

हाल गैरआवासीय नेपालीहरूलाई गैर आवासीय नागरिकता प्रदान हुँदै आएको छ, तर अंशबण्डा लगायतका विषयमा गैर आवासीय नागरिकतालाई मान्यता नदिएको गुनासो उनीहरूले गरेका छन्।

छलफलमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली नागरिकसरह अधिकार सुनिश्चित गरी नागरिकता दिनुपर्नेमा जोड दिए। उनले भने, “सांसद बन्न चाहने व्यक्तिले नेपालकै नागरिक हुनुपर्छ, तर अन्य अधिकारहरू प्रयोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था कानुनमा हुनुपर्छ।”

त्यसैगरी, गैरआवासीय नेपाली संघकी पूर्वअध्यक्ष रविना थापाले मालपोतसमेतले मान्यता नदिने गैर आवासीय नागरिकताले समस्या सिर्जना गरेको बताउँदै, वंशको आधारमा नागरिकता पाएका नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने सुझाव दिइन्।

ब्रिटिस गोर्खा सैनिकहरूले पनि नागरिकतामा हुने विभेद हटाएर नयाँ कानुन बनाउँदा यसबारे ध्यान दिनुपर्ने बताएका थिए।

साथै, समितिका सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीलाई प्रदान गरिने नागरिकतासम्बन्धी विषयमा सरकारले स्पष्ट धारणा ल्याउने र त्यसलाई विधेयकमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया