दार्चुलामा चट्याङ लागेर दुई जना घाइते

दार्चुला, जेठ ६ । दार्चुलामा चट्याङ लागेर दुई जना व्यक्ति घाइते भएका छन् भने एक गाई र एक खसीको ज्यान गएको छ। सोमबार साँझ महाकाली नगरपालिका–६, निसिलमा चट्याङ परेर अठार वर्षीय जनकसिंह धामी र छ वर्षीय दिवान्स धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरी चौकी धापका प्रहरी सहायक निरीक्षक दीपेन्द्रसिंह साउँदका अनुसार, निसिलस्थित पदमसिंह धामीको घरको पर्खालमा चट्याङ परेपछि दुई जना घाइते भएका हुन्। उनीहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको बताइएको छ।

चट्याङका कारण घरको गोठमा रहेका एक गाई र एक खसीको मृत्यु भएको छ। त्यसैगरी, सोही साँझ आएको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।

जिल्ला सदरमुकाम खलङ्गा, बङ्गाबगरस्थित कल्याणसिंह कुँवरको घरमा रुख ढल्दा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। शैल्यशिखर नगरपालिका–५ ठुलिसैनी क्षेत्रमा हावाहुरीका कारण बिजुलीका पोल र सल्लाका रुख ढलेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।

प्रहरी चौकी रातामाटाका अनुसार, लेकम गाउँपालिका–४, खरकडा स्थित गल्ला केदार माध्यमिक विद्यालयका तीनवटा र सोही पालिकाका अन्य तीनवटा सोलार प्यानल हावाहुरीले उडाएर क्षति पुर्‍याएको छ। यस्तै, लेकम गाउँपालिका–३ मकन्नाका वासुदेव जोशीको दुई कोठे घरको छानो पनि उडाएको इलाका प्रहरी कार्यालय लालीले जनाएको छ।

हावाहुरीका कारण विद्युत् पोलहरू ढलेपछि सदरमुकाम खलङ्गा लगायतका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार, गोकुलेश्वर, ठुलिसैनी, पासादेउ, गोठिउडी, सिलचोक लगायतका स्थानमा दुईवटा पोल र तारमा क्षति पुगेको छ।

त्यसैगरी, लेकम गाउँपालिकाको लालीस्थित खिम्तडमा पाँच पोल, रातामाटा क्षेत्रमा दुई पोल र जौलजिबीको नेपाल टेलिकम लाइन हुँदै डाडाकोट जाने लाइनमा पाँच पोलमा क्षति भएको वितरण केन्द्रले जनाएको छ।

सोमबार बेलुकी परेको असिना पानी र हावाहुरीका कारण ११ केभी, ३३ केभी र एलटी लाइनमा क्षति पुग्दा विद्युत् आपूर्ति अवरुद्ध भएको हो। वितरण केन्द्रका अनुसार मर्मत कार्य तीव्र रूपमा भइरहेको छ र चाँडै सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।

तपाईको प्रतिक्रिया