सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नयाँ दिल्लीतर्फ प्रस्थान

काठमाडौं, वैशाख १६ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतको सातदिने औपचारिक भ्रमणमा आज (मंगलबार) १० सदस्यीय टोलीसहित नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। उनको भ्रमण भारत सरकारको औपचारिक निमन्त्रणामा भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा लगानी सम्मेलनको तयारी, ऊर्जा, पर्यटन र कृषि क्षेत्रका सम्भावनाहरूबारे छलफल हुने जानकारी दिए। उनका अनुसार, भ्रमण टोलीले दिल्ली, देहरादुन, अयोध्या र लखनऊ लगायतका प्रमुख सहरहरूको अवलोकन गर्नेछ।

भ्रमणको प्रारम्भमा टोली दिल्लीमा रहनेछ भने बुधबार भारतका संघीय मन्त्रीहरू तथा विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनका अधिकारीहरूसँग औपचारिक भेटवार्ता र अन्तरक्रिया कार्यक्रम हुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।

भ्रमण अवधिमा टोलीले भारतीय कृषि अनुसन्धान संस्था, देहरादुनको कृषिसम्बन्धी परियोजना र अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछ। साथै, उत्तराखण्डका मुख्यमन्त्री र कृषिमन्त्रीसँग भेटघाट पनि तय भएको छ। भ्रमणको अन्त्यमा टोली लखनऊबाट स्थलमार्ग हुँदै कैलाली फर्किनेछ।

मुख्यमन्त्री शाहको अनुपस्थितिमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

भ्रमणमा सहभागी अन्य सदस्यहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, नेकपा (एस) का प्रमुख सचेतक नरेशकुमार शाही, माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, सचिव सुरतकुमार बम, राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट छन्।

शाह नेतृत्वको टोली वैशाख २२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया