संविधानको रक्षा गर्न प्रतिवद्ध छौं: संविधान सभा परिषद् नेपाल

काठमाडौं। संविधान सभा परिषद् नेपालले देशमा अराजक गतिविधिहरूका कारण अस्थिरता सिर्जना भएको र यसले राजनीतिक अस्थिरता बढाएको जनाएको छ। सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परिषद्ले यस्तो ठहर गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष अनन्त पौडेलले अराजक गतिविधिहरूले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने र नेपाली समाजलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उहाँले राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै संविधानको मर्म र भावना विपरीत संवैधानिक व्यवस्थामाथि आक्रमण भइरहेको बताएका छन्।

अध्यक्ष पौडेलले नेपालको लोकतन्त्र बलिदान र संघर्षका साथ स्थापित भएको र यसको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताए। उनले गणतन्त्रको स्थापना व्यवस्थागत मात्र नभई ऐतिहासिक परिवर्तन भएको पनि उल्लेख गरे।

संविधान सभा परिषद् नेपाल संविधानको रक्षा गर्न प्रतिवद्ध रहेको र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन निरन्तर लागिरहने स्पष्ट पारेका छन्। परिषद्ले केही समूहले संघीय लोकतान्त्रिक गणतन्त्रका मर्म र भावना विपरीत गतिविधि गरिरहेको भन्दै ती क्रियाकलापहरूको भत्र्सना गरेको छ।

अध्यक्ष पौडेलले भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त बनाउन सबै दलहरूलाई एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले संविधानमा रहेका कमजोरीहरूलाई हटाएर आवश्यकताअनुसार संशोधन गर्न सबै पक्षसँग छलफल गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया