हेटौंडामा अर्काको प्रवेशपत्रमा फोटो राखेर एसईई दिने नक्कली परिक्षार्थी पक्राउ

हेटौंडा। एसईई मा आफ्नो फोटो अर्काको प्रवेश पत्रमा राखेर परिक्षा दिन आएका नक्कली परिक्षार्थी हेटौंडामा पक्राउ परेका छन्।

शुक्रबार बिहान हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी स्थित सोलिड्यारेटी मावि परीक्षा केन्द्रमा यस प्रकरण उजागर भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा सिन्धुली जिल्ला, मरिन गाउँपालिका–४ का १७/१८ वर्षका बिराज बि.क. रहेका छन्। उनी हाल हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ कि बिराजले हेटौंडा उपमहानगरपालिका–१२ का पदमपोखरी बस्ने किशोर श्रेष्ठका छोरा, १९ वर्षका अंकिश श्रेष्ठको नामको प्रवेश पत्र प्रयोग गरी परीक्षा दिन खोजेका थिए।

उनीहरू दुबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थप अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया