सेयर बजारमा निरन्तर गिरावट, नेप्से ४७ अंकले घट्दा करिब १३ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली सेयर बजार पुनः ओरालो लागेको छ। नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा झरेको छ।

आज कुल ३४१ कम्पनीका ३ करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा करिब १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ, जहाँ २३७ कम्पनीको मूल्य घट्दा २६ कम्पनीको मात्र वृद्धि भएको छ भने केही कम्पनीको मूल्य स्थिर रहेको छ।

समग्र बजार घटेको भए पनि केही कम्पनीमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेस्ट इनको सेयर मूल्य उच्च दरले बढेको छ। त्यस्तै, सुपर खुदी हाइड्रोपावरको मूल्य पनि उल्लेखनीय रूपमा उकालो लागेको छ।

यसदिन सबैभन्दा बढी गिरावट सोलु हाइड्रोपावरको सेयरमा देखिएको छ। कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो भने ङादी ग्रुप पावर र शिवम सिमेन्ट पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्।

विश्लेषकहरूका अनुसार राजनीतिक अन्योलता र सम्पत्ति शुद्धीकरण सम्बन्धी सरकारी सक्रियताले लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना गर्दा बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ।

तपाईको प्रतिक्रिया