सेयर बजारमा उत्साह: नेप्से ५३ अंकले उकालो, कारोबार सात अर्ब नाघ्यो

काठमाडौं, नेप्से परिसूचकले बुधबार नौ दिनपछि पुनः २८ सय विन्दु पार गरेको छ। भदौ १ गते २८०३ विन्दु पुगेपछि घट्न थालेको नेप्से यस दिन ५३.०१ अंकले उकालो लाग्दै २८१९.१० विन्दुमा पुगेको हो।

सेयर बजारमा कारोबार रकममा समेत उल्लेखनीय वृद्धि देखिएको छ। मंगलबार ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ८३ प्रतिशतले वृद्धि भई ७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

बुधबार कारोबार भएका सबै समूहगत परिसूचकहरूमा हरियाली देखिएको छ। विशेष गरी विकास बैंक समूहको परिसूचक तीन प्रतिशतले बढ्दै सबैभन्दा अगाडि देखिएको छ। कुल सात समूहमध्ये छ वटा समूहमा दुई प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यले नयाँ उच्च विन्दु छोएको छ। कम्पनीको सेयर १,७३३ रुपैयाँमा कारोबार भएको छ, जुन मूल्यसम्म पुग्नु कम्पनीका लागि ऐतिहासिक हो। सो दिन कम्पनीको ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो, जसका आधारमा यो दोस्रो सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ।

हिमालयन रि–इन्सुरेन्स कम्पनी ६५ करोड रुपैयाँको कारोबारसहित सबैभन्दा धेरै सेयर कारोबार हुने कम्पनी बन्न पुगेको छ। यी दुबै बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण कायम रहनुको कारण नियामक निकायले तोकेको २० अर्ब चुक्ता पुँजीको लक्ष्य अझै अपूरा हुनु हो।

त्यस्तै, ग्रीन भेन्चर्स लिमिटेड तेस्रो सर्वाधिक कारोबार हुने कम्पनीमा दरिएको छ। कम्पनीले कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१ प्रतिशत संस्थापक सेयर किन्नेसम्बन्धी सम्झौता गरेपछि लगानीकर्ताको ध्यान यस कम्पनीतर्फ आकर्षित भएको हो।

यस्तै, केही समयअघि सूचीकरणमा आएको विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्य लगातार वृद्धि भई बुधबार पनि १० प्रतिशतले उकालो लाग्दै सर्किट ब्रेक लागेको छ। सो दिन कम्पनीको सेयर ५१७ रुपैयाँमा कारोबार भएको हो।

बुधबार कुल ३२१ वटा लगानी उपकरणको कारोबार भएकोमा २७३ को मूल्यमा वृद्धि, ४० को मूल्यमा गिरावट र बाँकी उपकरणहरूको मूल्य स्थिर रहेको छ।

तपाईको प्रतिक्रिया