“सुनुवाइ परियोजनाः सरसफाइकर्मीका आवाजहरू” कार्यशाला सम्पन्न

ललितपुर, १२ चैत २०८२ ।सरसफाइ कामदारहरूले दैनिक कार्यका क्रममा भोग्दै आएका चुनौती, स्वास्थ्य जोखिम र सामाजिक सम्मानको अभावलाई केन्द्रमा राख्दै “सुनुवाइ परियोजना: सरसफाइ कामदारका आवाजहरू” विषयक कार्यशाला ललितपुरमा सम्पन्न भएको छ।
बिहीबार आयोजित कार्यशालामा सरसफाइ कामदारहरूले आफ्ना अनुभव, कार्य वातावरण, स्वास्थ्य सुरक्षा तथा नीतिगत तहमा आफ्नो सहभागिताबारे खुलेर धारणा राखेका थिए। सहभागीहरूले सरसफाइ कामदारको कामलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाउन नीतिगत सुधार अपरिहार्य रहेको औंल्याएका थिए।

कार्यक्रममा प्रस्तुत गरिएको तथ्य तथा अनुभवहरूलाई नीति र व्यवहारमा समावेश गर्न आवश्यक रहेकोमा जोड दिइएको थियो। ENPHO का परियोजना प्रमुख केशव श्रेष्ठले “सुनुवाइ परियोजना” का उपलब्धि प्रस्तुत गर्दै सरसफाइ कामदारका आवाजलाई संस्थागत रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमको अर्को आकर्षण “सरसफाइ कामदारका आवाजहरू – नीति, अभ्यास र समावेशीकरण” विषयक प्यानल छलफल रहेको थियो। छलफलमा वातावरण इन्जिनियर, स्थानीय तहका प्रतिनिधि तथा स्वयं सरसफाइ कामदारहरूको सहभागिता थियो।
वाटरएड नेपालका निर्देशकले सरसफाइ कामदारहरूले महत्वपूर्ण सार्वजनिक सेवामा योगदान दिँदै आए पनि उनीहरूको उचित मूल्यांकन र सम्मान हुन नसकेको बताए। उनले परियोजनाबाट प्राप्त निष्कर्षलाई सरोकारवालासँग साझेदारी गर्दै सरसफाइ कामदारको सम्मान (dignity) र सुरक्षा (safety) सुनिश्चित गर्न पहल गरिने उल्लेख गरे।

खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSSM) का महानिर्देशक कमलराज श्रेष्ठले सरसफाइ कामदारहरूको कार्य व्यवस्थापनका लागि स्थानीय तहसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले बीमा, सुरक्षा व्यवस्था, सेफ्टी ट्यांकी व्यवस्थापन तथा ढल सफाइ (desludging) कार्यलाई व्यवस्थित बनाउन स्थानीय तहको भूमिकालाई स्पष्ट र जिम्मेवार बनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा एनफो (ENPHO) का कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठको अध्यक्षता तथा DWSSM का महानिर्देशक कमलराज श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो। साथै खानेपानी मन्त्रालयका विभागीय इन्जिनियर, ललितपुर महानगरपालिकाका प्रतिनिधि, वाटरएड नेपालका प्रतिनिधिसहित विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया