साफ महिला क्लब च्याम्पियनसिप: ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगाल आज आमनेसामने

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले आज (मंसिर २२) भारतीय क्लब इस्ट बंगाल एफसीसँग प्रतिस्पर्धा गर्दैछ। ट्रान्सपोर्टको यो दोस्रो खेल हो। यसअघि उनले पाकिस्तानी क्लब कराची सिटी एफसीसँग खेलिएको उद्घाटन खेल गोलरहित बराबरीमा टुंग्याएकी थिइन्।

दिउँसो २ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल ट्रान्सपोर्टका लागि समूह चरणमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। ट्रान्सपोर्ट भुटानी महिला फुटबल लिगको उपविजेता टोली हो।

आज हुने दोस्रो खेलमा कराची सिटी एफसी र बंगलादेशी क्लब नस्रिन स्पोर्ट्स एकेडेमी आमनेसामने हुनेछन्। दुवै टोलीको यो दोस्रो खेल हो। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

कराचीले पहिलो खेलमा ट्रान्सपोर्टसँग बराबरी खेलेको थियो भने नस्रिन स्पोर्ट्स एकेडेमी एपीएफ फुटबल क्लबसँग ४–० ले पराजित भएको थियो।प्रतियोगितामा जम्मा पाँच टोली सहभागी छन्।


तपाईको प्रतिक्रिया