साउदी प्रो लिगको उपाधि अल–इत्तिहादलाई, बेन्जेमाको कप्तानीमा १०औँ सफलता

काठमाडौं — करिम बेन्जेमाको कप्तानीमा रहेको अल–इत्तिहादले साउदी प्रो लिगको उपाधि हात पारेको छ। बिहीबार राति अल–राइदमाथि ३–१ को जित निकालेसँगै अल–इत्तिहादले लिगको शीर्ष स्थान सुरक्षित गर्दै च्याम्पियन बनेको हो।

जितमा स्टेभन बेर्जविन, ड्यानिलो पेरेरा र अब्दुलरहिम अलोबुदले गोल गरे। अल–राइदका ओउमार गोन्जालेजले सुरुवाती अग्रता दिलाएका थिए। नवौँ मिनेटमा गोन्जालेजको गोलबाट राइदले अग्रता लिएको थियो, तर २१औँ मिनेटमा बेर्जविनले बराबरी गोल फर्काए। ४०औँ मिनेटमा पेरेराको गोलले इत्तिहादलाई पहिलो हाफमा २–१ को अग्रता दिलायो। दोस्रो हाफ सुरु भएपछि ४७औँ मिनेटमै अलोबुदले गोल गर्दै ३–१ को नतिजा सुनिश्चित गरे।

यो उपाधिसँगै अल–इत्तिहादले साउदी प्रो लिगको इतिहासमा १०औँ पटक च्याम्पियन बन्ने सफलता हासिल गरेको हो। क्लबले यसअघि सन् २०२३ मा पनि उपाधि जितेको थियो।

हालसम्म ३२ खेल खेलिसकेको इत्तिहादको ७७ अंक रहेको छ, जुन दोस्रो स्थानमा रहेको अल–हिलालभन्दा ९ अंकले बढी हो। अल–हिलालले ३१ खेलबाट ६८ अंक जोडेको छ। अल–राइद भने २१ अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया