सन्दर्भ : बिपी कोइराला स्मृति दिवस, मेलमिलाप चिन्तन राजनीतिक परिघटनाको उत्प्रेरणा

नेपाली राजनीतिका चम्किला नक्षत्र बीपी कोइरालाको भौतिक देह यो संसारबाट बिदा भएको चार दशक बितिसक्यो । आज उहाँको स्मरणको दिन अर्थात् स्मृति दिवस । देश र जनताका गौरव, राष्ट्रिय व्यक्तित्व र उहाँको चिन्तन नेपालको हरेक राजनीतिक घटना–परिघटनामा मार्गदर्शन बनेर नाचिरहेको छ । उहाँले आफ्नो राजनीतिक जीवनको उत्तराद्र्धतिर नेपालको राष्ट्रियता, सार्वभौमिक अखण्डता र स्वतन्त्रता जोगाएर मात्र प्रजातान्त्रिक समाजवादतिर नेपालको राजनीतिक यात्रा तय गर्न सकिन्छ भनी ‘राष्ट्रिय एकताका लागि मेलमिलाप’ भन्ने एक व्यावहारिक राजनीतिक उपागमलाई तत्कालीन राजा तथा जनतामाझ राख्नुभयो । आफ्नो भारत निर्वासन त्यागेर आफूमाथि लागेका सात सात वटा सङ्गीनखालका मुद्दाको पर्वाह नगरी नेपाल भित्रिनुभयो, तत्कालीन निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्थाको जटिल घडीमा । उहाँले दक्षिण एसियामा मडारिएको अनिष्टकारी कालो बादलले हाम्रोजस्ता साना देशमा ल्याउने दुष्परिणामको गहिरो विश्लेषण गर्नुभएको थियो र नै यो नवीन अभियानमा देशलाई अगाडि बढाउन सबै खाले चुनौतीलाई शिरमा राखेर भित्रिनुभएको थियो ।
नेपालको भू–परिवेष्टित अवस्थिति, छिमेकी दुई भीमकायका देशको राजनीतिक स्वार्थ, पश्चिमा मुलुकको नेपालप्रतिको रणनीतिक दृष्टिकोणको सम्बन्धको चासो र शीतयुद्धका बाछिटा आदि विभिन्न घटना–परिघटनाले भावी समयमा नेपालको राष्ट्रियता गम्भीर सङ्कटमा फस्न सक्छ भनेरै ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ भन्ने अभिनूतन दूरदृष्टिपूर्ण उपागम (अप्रोज) राख्नुभएको हो बीपीले । जुन नेपालको सन्दर्भमा सार्वकालिक महìवपूर्ण दृष्टिकोण बन्न पुग्यो । नेपालको राजनीतिक प्रणालीको परिवर्तन अपवादबाहेक अधिकांश समयमा एकता र मेलमिलापको मोर्चा वा गठबन्धनबाटै निष्पन्न भएको कुरा इतिहासले देखाउँछ । भारतको निर्वासनमा रहनुभएका बीपीले स्वदेश फर्कनुअघि यस्तो अपिल गर्नुभएको थियो :
हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ, जसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई महाराजधिराजलगायत अरूले पनि स्वीकारेकै कुरा हो । हाम्रो विचारमा अस्तित्वको सङ्कट राष्ट्रिय एकताको अभाव हो । जसले गर्दा हाम्रो देशमा विदेशी तìव कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ । कोरा नाराले मात्र हुने भए बितेका १३ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर यो सोचनीय स्थितिमा देश पुग्नपर्ने थिएन । आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलबाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिला राष्ट्रियताको हत्या हुन्छ । हिजोसम्म हाम्रो सङ्घर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र जोड दियौँ, यसमा आज एउटा नयाँ आयाम थपिएको छ ।
नेपाली काँग्रेसलाई यसरी दोहोरो जिम्मेवारी आइपरेको छ । प्रजातन्त्र प्राप्ति र राष्ट्रको रक्षा दुवै दायित्व नेपालीले लिनुपरेको छ । एक पक्षीय मात्र हामी बन्यौँ भने विदेशीको चालमा पर्ने खण्डमा हुन्छौँ । त्यस्तै, यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा ग-यौँ भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौँ । परिणाम अधिनायकवादको पक्षधर हुन पुग्छौँ । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने मनोबल देशवासीमा पैदा गर्न सक्दैन । त्यसैले राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन्छ । त्यसैले हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास एक–अर्कामा आधारित तìव हुन् । यिनै उदात्त विचार प्रक्षेपण गर्दै राजनेता बीपीले अन्त्यमा भन्नु भयो– म नेपाली काँग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपिल गर्न चाहन्छु कि राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख र समृद्धिको पूनित कार्यमा हामी सबै एकमत भएर लागौँ । राष्ट्रलाई बँचाउने जिम्मेदारी सबैको साझा दायित्व हो । (यो वक्तव्य ३० डिसेम्बर १९७६ का दिन बीपीले देशवासीका नाममा जारी गर्नुभएको थियो ।)
यतिखेर ओली सरकार आन्तरिक झगडा र रडाकोले विधिविधान विपरीत चल्दा राज्यसत्ताबाट विमुख भएको छ । नेकाका सभापति शेरबहादुर देउवा पाँच दलीय गठबन्धनको नायकत्व लिँदै प्रधानमन्त्री बन्न पुग्नुभयो । उहाँलाई संसद्बाट विश्वासको मतसमेत प्राप्त भइसकेको छ । ‘घुमीफिरी रुम्जाटार’ भनेझैँ निर्वाचन आयोगबाट मान्यता प्राप्त दलहरूको गठजोडमा बन्ने सरकारले सहमति, सहकार्य र मेलमिलापलाई नै आधारबिन्दु मान्नुपर्नेछ । वास्तवमा राणाहरूको निरङ्कुशता हटाउनेदेखि ०३६ सालको जनमतसङ्ग्रह, ०४६ को संयुक्त जनआन्दोलन, ०६२/०६३ को गणतान्त्रिक आन्दोलन र संविधान जारी गर्ने कुरामा बीपीकै राष्ट्रिय एकता र मेलमिलापको सूत्र नै महìवपूर्ण कडी बनेको यथार्थ सर्वविदित छ । “जनताबाट विचार लिएर प्रशोधन गरी जनतालाई नै दिने चीज नीति हो” भन्ने बीपीले प्रजातन्त्र अर्थात् लोकतन्त्र स्थापना हुनासाथ इतिहासको अन्त्य हुने होइन भन्नुभएको थियो । मानव जातिले समस्यालाई निरन्तर लखेटिरहनेछ । त्यसैले त उहाँको दर्बिलो विश्वास थियो– प्रजातन्त्रले राजनीतिक समानता प्रतिस्थापन गर्छ भने आर्थिक समानता वा समताका लागि समाजवादले योगदान पु-याउँछ । त्यसैगरी, राष्ट्रियताको जगेर्ना राष्ट्रिय एकता र मेलमिलापकै समझदार वातावरणबाट सम्भव हुन्छ ।
हो, यतिखेरको देशको अवस्थाले पनि देशका राजनीतिक शक्तिगृह मिलेर अहिलेको संविधानलाई कार्यान्वयन गर्न सचेत बनाएको छ । यति लामो समयसम्म राजनीतिक रङ्गमञ्चको मियो बनेर दशकौँ नेतृत्व तहमा आसीनहरू साँच्चै देशको अस्तित्व बचाउने र जनताको भलो चिताउन स्वार्थको घेराबाट बाहिर आउन सक्छन् कि सक्दैनन् भन्ने कुराको अन्तिम मौका र फैसला हुँदैछ ।
सबै दलका नायक नायकीय चरित्र र चिन्तनमा भिजेर भावी नेपालको राजनीतिक दिशालाई मेलमिलापको डबलीमा एकजुट हुनु अपरिहार्य छ । मेलमिलाप भनेको राज्य शासनमा सबैको सहाकार्य र सहमति हो, न कि आ–आफ्नालाई पदीय आसन दिएर विगतकै बिचौलिया वृत्तिको अभिनवीकरण । अधम र निकृष्ट भागवण्डा अब जनताले मन पराउँदैन । बीपीको समयमा मेलमिलाप हुनुपर्ने शक्तिगृहका पात्रहरू पृथक थिए भने यतिखेर अलि बेग्लै चरित्रका शक्तिगृह छन् । जे होस्, यो देशको उत्थान र विकासमा मेलमिलाप अपरिहार्य भएको बुझ्दाबुझ्दै पनि दम्भ र पाखण्डले मडारिएर जनताका प्रतिनिधिहरू गलत बाटोमा नजाऊन् । देशको आर्थिक, सामाजिक, शैक्षिक तथा सर्वपक्षीय विकासका निम्ति एकता र मिलाप हाम्रो प्रथम सूत्र हो भने अर्कोतिर भारत र चीनसितका हाम्रा समस्या समाधान गर्न र अन्य देशसित मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्न पनि राष्ट्रिय एकता र मेलमिलाप सार्वकालिक सूत्र वा आवश्यक तìव बनेको छ ।
यसरी बीपीकै मेलमिलाप र राष्ट्रिय एकताको दृष्टिकोण दूर–दूरान्तसम्म अँगाल्नुपर्ने हुँदा उहाँको यो भौगोलिक यथार्थलाई आत्मसात् गरेर कल्पना गरिएको सिर्जनशील उपागम नेपालको राजनीतिक यात्राको उत्प्रेरणाको सूत्र हो ।
(बद्रीप्रसाद दाहालले गोरखापत्रमा प्रकाशित गर्नुभएको लेखलाई साभार गरेका हौं ।लेखक बीपी चिन्तन प्रतिष्ठानको केन्द्रीय सदस्य हुनुहुन्छ । )

तपाईको प्रतिक्रिया