सत्ता पक्षकै असन्तुष्टिले लुम्बिनी प्रदेश सभाको कामकारबाही प्रभावित

बुटवल । बजेटसम्बन्धी विषयमा सत्ता पक्षका केही सांसदहरूले असन्तुष्टि जनाएपछि लुम्बिनी प्रदेश सभाको बैठक फेरि प्रभावित भएको छ। बुधबारका लागि तय गरिएको बैठक सञ्चालन हुन नसकेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

यसअघि मंगलबारको बैठकमा पनि बजेटका विषयमा सत्ता पक्ष तथा प्रतिपक्षका सांसदहरूले आपत्ति जनाएका थिए। त्यसपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका थिए। निर्धारित समयपछि पनि सहमति कायम हुन नसकेकाले बैठक अर्को दिनका लागि सारिएको थियो।

बुधबार पनि राजनीतिक दलहरूबीच आवश्यक सहमति जुट्न नसकेपछि प्रदेश सभा सचिवालयले नयाँ सूचना जारी गर्दै बैठक पुनः स्थगित गरेको हो।

सोमबारको बैठक पनि बजेटसम्बन्धी ‘रातो किताब’ समयमै उपलब्ध नभएको विषय उठेपछि प्रभावित भएको थियो। त्यसक्रममा बैठक मंगलबारका लागि सारिएको थियो।

सांसदहरूले बजेट निर्माण प्रक्रियामा आफूहरूले सिफारिस गरेका केही योजना समावेश नभएको तथा योजना छनोटमा पर्याप्त परामर्श नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। नेकपा (एमाले) की सांसद नरमाया ढकालले सांसदहरूका सुझावलाई बेवास्ता गरिएको र बजेट विनियोजन प्रक्रियामा पारदर्शिताको कमी देखिएको आरोप लगाएकी छन्।

बजेटबारे देखिएको असन्तुष्टि समाधानका लागि थप छलफल आवश्यक रहेको जनाउँदै सरकारले बैठक स्थगनका लागि सभामुखसँग अनुरोध गरेको बताइएको छ। यद्यपि, सम्बन्धित पक्षहरूबीच अझै सहमति कायम हुन नसकेका कारण प्रदेश सभा बैठक पुनः सारिएको हो।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेपछि त्यसका विभिन्न पक्षलाई लिएर सत्ता गठबन्धनभित्रै फरक धारणा र असन्तुष्टि देखिएको छ।

तपाईको प्रतिक्रिया