शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ : सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउने विषयमा पार्टी दृढ रहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वदेशमै रोजगारी सिर्जना गरेर युवाहरूलाई देशमै राख्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे।

“युवा जनशक्तिलाई विदेशिनु नपर्ने वातावरण बनाउनु पर्छ,” सभापति देउवाले भने, “बुद्धि, सीप र लगानी स्वदेशमै प्रयोग हुने संरचना तयार गर्न जरुरी भइसकेको छ।”

उनले राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। साथै, शिक्षा र निजामती ऐनको तयारी कांग्रेसको प्राथमिकतामा रहेको स्पष्ट पारे।

सामाजिक सुरक्षाका विषयमा बोल्दै देउवाले समाजवादी अवधारणाअनुसार असक्षम वर्गलाई भत्ता उपलब्ध गराउनु पर्ने र असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूले योगदानमा आधारित सामाजिक सुरक्षा सहज रूपमा पाउन सक्ने वातावरण निर्माण गर्न कानुनी संशोधन आवश्यक रहेको बताए।

“अनौपचारिक क्षेत्रका श्रमिकहरूका लागि श्रमिक पहिचान तथा पञ्जीकरण स्थानीय तहबाट हुने व्यवस्था गराउन पार्टीले पहल गर्नेछ,” उनले भने।

साथै, उनले श्रम ऐन कार्यान्वयनमा देखिएको कमजोरीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै, कांग्रेसले श्रम कानुन कार्यान्वयनमा पनि अग्रसरता लिने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया