शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने निकायलाई प्रशंसापत्र

काठमाडौँ, — गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्‍याउने गृह मन्त्रालयका कर्मचारी तथा विभिन्न सुरक्षा निकायका अधिकारीहरूलाई सम्मान गर्नुभएको छ।

सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले सम्बन्धित निकायका प्रमुखहरूलाई प्रशंसापत्र प्रदान गर्दै उनीहरूको भूमिकाको कदर गर्नुभयो। सम्मानित हुनेहरूमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की रहेका छन्।

यसैगरी काठमाडौँ उपत्यकाका तीनै जिल्लाका सुरक्षा समितिका पदाधिकारी र गृह मन्त्रालयका उच्च अधिकारीहरूलाई पनि सम्मान गरिएको छ। निर्वाचनमा खटिएका सबै कर्मचारी तथा सुरक्षाकर्मीप्रति मन्त्री अर्यालले धन्यवाद व्यक्त गर्नुभएको छ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र प्रभावकारी रूपमा सम्पन्न गरिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार यसपटकको निर्वाचन बिना कुनै हिंसात्मक घटना सम्पन्न हुनुका साथै पुनः मतदानको अवस्था पनि सिर्जना भएन, जसले नयाँ अभ्यास स्थापित गरेको छ।

उहाँले समन्वयात्मक कार्यशैली र सबै सरोकारवालाबीचको सहकार्यले सकारात्मक परिणाम ल्याएको बताउँदै आगामी दिनमा पनि यस्तो अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

मन्त्री अर्यालले केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा निकाय, सरकारी संयन्त्र र सम्बन्धित पक्षहरूको सक्रियता तथा नेतृत्व क्षमताले निर्वाचन सफल बनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो। साथै, निर्णय प्रक्रियामा पर्याप्त छलफल र समन्वय गरिएको भन्दै यसले समग्र कार्यान्वयनमा सहजता ल्याएको उहाँको भनाइ थियो।

कार्यक्रममा रक्षा सचिव केदारनाथ शर्माले पनि बलियो सहकार्य र समन्वयकै कारण निर्वाचन सफल भएको धारणा राख्नुभयो। त्यस्तै गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले समन्वयकारी नेतृत्वका कारण सुरक्षा व्यवस्थापन र शान्ति सुव्यवस्था कायम गर्न सकारात्मक उपलब्धि हासिल भएको बताउनुभयो।

तपाईको प्रतिक्रिया