वीर अस्पतालमा सेवा व्यवस्थापन सुधार, क्लिनिक र हाजिरी अडिट समिति गठन

काठमाडौं — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले कर्मचारी हाजिरी र अनुशासनमा कडाइ गर्ने निर्णय गरेको छ। कार्यालय समयमा ढिलो आए वा अनुपस्थित भएमा कारण उल्लेख गरी सम्बन्धित विभाग वा इन्चार्जमार्फत जानकारी गराउनुपर्ने व्यवस्था लागू हुने भएको छ।

समितिले निर्णयअनुसार कार्यालय समय वैशाख १ देखि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गर्ने र कात्तिक १५ देखि माघ १५ सम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म रहने व्यवस्था गरेको छ। चिकित्सक, नर्सिङ, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीले अनिवार्य रूपमा जिम्मेवारी पूरा गर्नुपर्नेछ।

अस्पतालको सरसफाइ र हाजिरीको निगरानीका लागि क्रमशः क्लिनिलेन्स अडिट समिति र अटेन्डेन्स अडिट समिति गठन गरिएको छ। चिकित्सकले बिरामीको विवरणमा आफ्नो नाम, एनएमसी नम्बर र हस्ताक्षर स्पष्ट गर्नुपर्ने र स्वास्थ्यकर्मीले परिचयपत्र वा एप्रोन अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ।

अस्पतालले ‘ओटी’, ‘क्याथ ल्याब’ र बेलुकी सत्रमा खटिने कर्मचारीलाई कार्यसम्पादन आधारित प्रोत्साहन भत्ता दिने व्यवस्था अघि बढाउने छ। फार्मेसी सेवामा सुधार गर्दै औषधिको उपलब्धता सुनिश्चित गर्ने र सेवाग्राहीलाई स्टकबारे जानकारी दिने प्रणाली पनि लागू हुने बताइएको छ।

निर्देशक डा. दिलीप शर्माका अनुसार यी निर्णयले अस्पतालमा सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया