विश्वासको मतअघि मधेश राजनीतिमा बढ्यो दबाब

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक राजनीतिक अन्योलका कारण प्रभावित बनेको छ।

सत्तारूढ गठबन्धनभित्र देखिएको असन्तुष्टि र दलहरूबीच सहमति नजुट्दा बैठक निर्धारित समयमा सुरु हुन सकेन। मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाउनुभएको थियो। तर दिउँसोसम्म पनि बैठक सञ्चालन हुन नसकेको जनाइएको छ।

प्रदेशसभाको बैठकपछि कार्यव्यवस्था परामर्श समितिको छलफल जारी रहेको बताइएको छ। बैठकको समय पछि सारिएको छ भने दलहरूबीच अन्तिम तयारी र आन्तरिक छलफल चलिरहेको छ।

यसबीच, जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा अझै औपचारिक निर्णय गर्न सकेको छैन। यसले सरकारको बहुमत समीकरणलाई थप चासोको विषय बनाएको छ।

त्यस्तै, नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिका कारण मुख्यमन्त्री यादवलाई आफ्नै पार्टीभित्रबाट समेत चुनौती आउन सक्ने चर्चा भइरहेको छ। विशेषगरी पार्टीको शेखर समूहका केही सांसदको भूमिकालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।

यसअघि वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संविधानअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

तपाईको प्रतिक्रिया