विद्यालय शिक्षा विधेयक टुङ्ग्याउन गम्भीर छु : शिक्षामन्त्री रघुजी पन्त


काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्ग्याउने विषयमा आफू गम्भीर रहेको स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले उपसमितिबाट पेश भएको प्रतिवेदनमाथि निरन्तर छलफल गरेर विधेयकलाई निष्कर्षमा पुर्‍याउने प्रयास भइरहेको बताए।

उनले विधेयकभित्रका कतिपय विषयमा राजनीतिक तहमा समेत सहमति आवश्यक देखिएको उल्लेख गर्दै, सहमति भएका विषयलाई प्राथमिकता दिने र असहमति कायम रहेका विषयहरूलाई विस्तृत छलफलमार्फत निष्कर्षमा लैजाने धारणा राखे।

समिति सभापति अम्बरबहादुर थापाले भने जेठ १५ गते बजेट प्रस्तुत हुनु अघि नै विद्यालय शिक्षा विधेयकलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए। उनले शिक्षा क्षेत्रमा सुधार ल्याउँदा राज्यलाई एकैपटक आर्थिक भार नपर्ने गरी चरणबद्ध योजना लागू गर्नुपर्ने सुझाव पनि दिए।

यसअघि समितिअन्तर्गतको उपसमितिले विधेयकका १५ वटा परिच्छेद र १६३ दफामाथि विस्तृत छलफल गरी १०८ बुँदाको प्रतिवेदन तयार पारी समितिमा पेश गरिसकेको छ।

तपाईको प्रतिक्रिया