लिखुभुजी युवा क्लबले जित्यो हाङथुम कप

संखुवासभा: संखुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा सम्पन्न ४६औं हाङथुम कप पुरुष फुटबल प्रतियोगितामा लिखुभुजी युवा क्लबले उपाधि जितेको छ। शनिबारको फाइनलमा रामेछापको लिखुभुजीले सुनसरीको सिर्जना युवा क्लब धरानलाई १-० गोलले हराउँदै उपाधि हात पारेको हो।

पहिलो हाफ गोलरहित बराबरी रहनपछि दोस्रो हाफको ७९औं मिनेटमा लिखुभुजीका करण मगरले गरेको गोल निर्णायक बन्यो। पेनाल्टीमा गरेको गोलले लिखुभुजीलाई उपाधि दिलाएको हो।

विजेताले नगद २ लाख २० हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गर्यो, जबकि उपविजेता सिर्जना युवा क्लबले १ लाख १० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्‍यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिर्जना युवा क्लबका नगेन राई घोषित भए र उनले १५ हजार रुपैयाँ पुरस्कार पाए। उत्कृष्ट गोलरक्षकको पुरस्कार लिखुभुजीका मिलन श्रेष्ठले, सर्वाधिक गोलकर्ताको पुरस्कार चुलाचुली स्पोर्टिङ क्लबका तीर्थ बस्नेत र लिखुभुजीका विच लिम्बूले प्राप्त गरे। उनीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र संखुवासभाका आठ टोलीले सहभागिता जनाएका थिए।

तपाईको प्रतिक्रिया