लक्ष्यअनुसार भएन विकास खर्च, राजस्व संकलन पनि प्रभावित

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा सरकारले कुल विनियोजित बजेटको करिब ६० प्रतिशत खर्च गरेको देखिएको छ। तर विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने अपेक्षाकृत निकै न्यून रहेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म सरकारबाट करिब ११ खर्ब ७३ अर्ब रुपैयाँ खर्च भएको छ। चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको थियो।

तथ्यांकअनुसार चालु खर्चतर्फ सबैभन्दा बढी प्रगति देखिएको छ। यस शीर्षकमा छुट्याइएको बजेटको झण्डै ६९ प्रतिशत खर्च भइसकेको छ। प्रशासनिक तथा नियमित सरकारी कामका लागि छुट्याइएको रकममध्ये आठ खर्बभन्दा बढी खर्च भएको जनाइएको छ।

तर विकास निर्माणका परियोजनामा खर्च हुने पुँजीगत बजेटको अवस्था भने कमजोर देखिएको छ। सरकारले यस शीर्षकमा चार खर्बभन्दा बढी रकम विनियोजन गरे पनि वैशाखसम्म करिब २८ प्रतिशत मात्रै खर्च हुन सकेको छ।

यस्तै वित्तीय व्यवस्थापनतर्फ भने करिब ६५ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरिएको छ।

सरकारी आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन। चालु आर्थिक वर्षका लागि तय गरिएको राजस्व तथा अन्य आम्दानी लक्ष्यको करिब दुई तिहाइ मात्रै संकलन भएको छ। सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म झण्डै ९ खर्ब ८८ अर्ब रुपैयाँ मात्र संकलन भएको छ।

त्यस्तै वैदेशिक अनुदानतर्फ पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको देखिएको छ। सरकारले चालु आवमा ५३ अर्ब रुपैयाँभन्दा बढी अनुदान प्राप्त गर्ने लक्ष्य राखे पनि हालसम्म करिब एक तिहाइ रकम मात्रै प्राप्त भएको विवरणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया