कारोबार रकम बढ्दा पनि सेयर बजारमा गिरावट, अधिकांश कम्पनीको मूल्य घट्यो

काठमाडौं ।मंगलबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक २६.१६ अंकले घट्दै २७७० विन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिनमा भने बजार सामान्य रूपमा उकालो लागेको थियो।

कारोबार रकम भने बढेको छ। अघिल्लो दिन करिब ४ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार यो रकम बढेर ६ अर्ब ५३ करोड पुगेको छ।

यसदिन सीमित कम्पनीहरूको मूल्य मात्र बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ। कुल ४२ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १४ कम्पनी स्थिर रहेका छन्। समूहगत रूपमा हेर्दा होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भई २.५६ प्रतिशतले घटेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरे पनि त्यसको सकारात्मक असर बजारमा देखिएन। अधिकांश संस्थाको नाफा र प्रतिसेयर आम्दानीमा सुधार भए पनि लगानीकर्ताको विश्वास बलियो बन्न सकेन।

त्यस्तै, ऋण नोक्सानी व्यवस्थापन खर्च केही घटेको देखिए पनि कर्जा असुली र ब्याज उठाउने विषयमा चुनौती कायमै रहेकाले बजारमा उत्साह देखिन सकेन।

पछिल्लो समय उद्योगी व्यवसायीमाथि भएका कारबाहीको प्रभाव पनि सेयर बजारमा देखिँदै आएको छ। बीचबीचमा सामान्य सुधार देखिए पनि समग्र बजारमा गिरावटको प्रवृत्ति कायम रहेको छ।

समूहगत सूचकतर्फ अधिकांश क्षेत्रमा गिरावट देखिएको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, बीमा तथा व्यापार क्षेत्रका सूचकहरू घटेका छन् भने ‘अन्य’ समूहमा सामान्य वृद्धि देखिएको छ।

मंगलबार कुनै पनि कम्पनीको मूल्यमा उल्लेख्य वृद्धि देखिएन। केही ऋणपत्रहरूको मूल्य भने सीमित रूपमा बढेको छ। यता, केही कम्पनीहरूको सेयर मूल्यमा उच्च गिरावट आएको छ।

कारोबारका आधारमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र कुमारी बैंक अग्रस्थानमा रहेका छन्।

तपाईको प्रतिक्रिया