रोनाल्डोको २ गोलमा अल नासरको जित

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ।

मङ्गलबार भएको खेलमा अल नासरले अल खलिजलाई ३-१ गोलले पराजित गर्यो। प्रिन्स मोहम्मद बिन फदाह स्टेडियममा भएको उक्त खेलमा रोनाल्डो बाहेक नासरका सुल्तान अल घन्नामले पनि गोल गरेका थिए, जबकि खलिजका लागि कोन्स्टेन्टिनोस फोर्टुनिसले गोल गरे।

खेलको ३४औं मिनेटमा खलिजका सईद अल हम्सालले रातो कार्ड पाएर मैदान बाहिरिएपछि खलिज १० खेलाडीमा सीमित भयो। रोनाल्डोले ६५औं मिनेटमा गोल गर्दै नासरलाई अग्रता दिलाए।

८०औं मिनेटमा फोर्टुनिसले पेनाल्टी मार्फत गोल गर्दै खलिजलाई बराबरीमा पुर्याए। त्यसपछि ८१औं मिनेटमा सुल्तानले गोल गर्दै नासरलाई पुनः अग्रता दिलाए।

इन्ज्युरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै नासरलाई ३-१ को जित दिलाए।

जितसँगै, अल नासर १६ खेलमा ३२ अंकका साथ तेस्रो स्थानमा रह्यो, जबकि समान खेल खेलेको अल हिलाल ४३ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया