रुकुमपूर्वमा भारी वर्षाको असर: मध्यपहाडी लोकमार्ग बन्द, यात्रा जोखिमपूर्ण

रुकुमपूर्व — शनिबार साँझ परेको लगातार वर्षाका कारण रुकुमपूर्वमा पर्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। भारी वर्षासँगै विभिन्न स्थानमा लेदोसहितको पहिरो जाँदा मुख्य सडक पूर्ण रूपमा बन्द भएको हो।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार लोकमार्गका दर्जनौँ स्थानमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको छ। साथै अन्य सहायक सडकहरू पनि पहिरोका कारण अवरुद्ध भएका छन्।

उनका अनुसार धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीतालगायत क्षेत्रमा ठूलो मात्रामा पहिरो खसेको छ। त्यस्तै मुरु क्षेत्रमा दुई स्थानमा पहिरो गएको छ भने धाउन्ने सडकखण्ड पनि अवरुद्ध भएको छ।

सडक खुलाउने प्रयासका लागि भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। यद्यपि लगातार वर्षा भइरहेकाले पहिरो हटाउने कार्यमा कठिनाइ भइरहेको छ।

प्रहरीले मौसम सुधार नभएसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यसैबीच, शनिबार साँझ करिब ६ बजेदेखि रुकुमपूर्वमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ। वर्षासँगै परेको असिनाका कारण स्थानीय गहुँबालीमा समेत क्षति पुगेको जनाइएको छ।

तपाईको प्रतिक्रिया