सरकारले दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस, अध्ययनमा प्रक्रिया जारी


काठमाडौं ।सरकारले दुई महत्वपूर्ण अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संवैधानिक परिषदसँग सम्बन्धित तथा सहकारी क्षेत्रसँग जोडिएका अध्यादेशहरू राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सोही निर्णयअनुसार ती अध्यादेशहरू जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा प्रस्ताव पठाइएको स्रोतले जनाएको छ। नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने व्यवस्था रहेको छ।

यद्यपि, सरकारका प्रवक्ता सस्मित पोखरेलले सो दिन सार्वजनिक गरेका निर्णयहरूमा अध्यादेशसम्बन्धी विषय समावेश गरेका थिएनन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, सिफारिस गरिएका अध्यादेशहरू हाल अध्ययनको प्रक्रियामा रहेका छन्।

यसअघि सरकारले संघीय संसदका दुवै अधिवेशन आह्वान गरी पछि स्थगन गराएपछि मात्रै अध्यादेश ल्याएको हो।

उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसद् अधिवेशनलाई बेवास्ता गर्दै अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएको छ।

तपाईको प्रतिक्रिया